नेपाली सेनामा भूपू सैनिकलाई पनि आचारसंहिता

काठमाडौं,बैशाख १७। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता ०७६ जारी गर्दै कडाइपूर्वक लागू गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनकै चाहनाअनुसार सेनाले ८ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको छ । आचारसंहितामा सामाजिक सञ्जालको प्रयोग, मदिरा सेवन, लैंगिक संवेदनशीलतादेखि आर्थिक पारदर्शितामा ध्यान दिन निर्देशन दिइएको छ ।

 

प्रधानसेनापति थापाले शान्तिसेनामा सैनिक उच्च अधिकारीको सिफारिसमा पठाउने मिल्ने कोटा हटाएका छन् । अब ज्येष्ठताका आधारमा मात्र सैनिकले शान्ति सेनामा भाग लिन पाउनेछन् । ‘हाम्रा प्रचलित आचारसंहितामा थपघट गरेर प्रधानसेनापतिज्यूको मार्गनिर्देशन तथा यसबीचमा बनेका नियमपद्धति समेटेर आचारसंहिता ग्रन्थ तयार गरेका छौँ ।

 

यो ग्रन्थ सबैलाई वितरण गरेर कार्यान्वयन प्रारम्भ भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने, ‘बहालवालालाई मात्र होइन, आचारसंहिता भूतपूर्व सैनिकको सबै तहमा लागू भएको छ ।’ उनले हरेक नीति निर्माणअघि सेनाको तलदेखि माथिल्लो तहसम्म सुझाब लिने व्यवस्था गरिएको पनि बताए ।

 

उनका अनुसार बजेट पारदर्शी बनाउन सेनाले बजेट आचारसंहिता ०७६ लागू गरेको छ । बजेटसम्बन्धी आन्तरिक निर्देशिका पनि जारी भएको छ । ‘पुराना बेरुजु फस्र्योट गर्न र बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन भएको छ र समितिले काम थालेको छ’ सैनिक प्रवक्ता पाण्डेले भने । प्रधानसेनापतिले आचारसंहिता भूतपूर्व सैनिक जवानदेखि पूर्वप्रधानसेनापतिलाई समेत लागू गर्न मातहतमा निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा, नेपाली सेनाको छविमा आँच आउन नदिन र सेवामा रहँदा प्राप्त भएका गोप्य सूचना सार्वजनिक गर्न नदिन उनीहरूलाई पनि आचारसंहिता लागू गरिएको सेनाले जनाएको छ ।

 

पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल, छत्रमानसिंह गुरुङ तथा पूर्वरथी विवेक शाहले लेखेको संस्मरणपछि रक्षामन्त्रालयको निर्देशनमा सेनाले संस्मरण तथा विगतका सूचना सार्वजनिक गर्ने गरी किताब लेख्न रोक लगाएको छ । ‘अवकाशप्राप्त सैनिकलाई सेवा छाडेको ६ महिनाभित्र सैनिक ऐन लागू हुने कानुनी व्यवस्था छ, तर उनीहरूलाई आवश्यक परेका वेला हाजिर हुने वचनबद्धतामा सहीछाप गराइएको हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।

 

तीन वर्षअघि २ जेठ ०७३ मा निर्देशन समितिले भुपूलाई संवेदनशील विषयमा किताब लेख्न रोक लगाउने निर्णय गरेरको थियो । आचारसंहिता उल्लंघन गरे पूर्वअधिकारीमाथि पनि कारबाही गर्ने आदेशअनुसारएक महिनाअघि जंगी अड्डाले पूर्वसहायकरथीद्वय डा. प्रेमसिंह बस्न्यात र धर्म बानियाँलाई राजनीतिक अभिव्यक्ति नदिन सचेत गराएको थियो । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।