ट्रकको ठक्करबाट एक युवतीको मृत्यु,प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा ७ जना घाइते

 कैलाली,बैशाख १७। कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि लम्की बजार तनावग्रस्त भएको छ। हरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरीसहित ७ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको छ ।

 

लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

 

अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्।

 

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र हवाई फायरसमेत गरेको छ। सोही क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ।

 

अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले जानकारी दिए ।

 

लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्कने क्रममा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिँदा रावलको घटनास्थलमा नै मृत्यु भएको हो । पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएपछि उनी सडकमा ढलेकी थिइन् । ट्रकको ठक्करबाट सडकमा ढलेकी रावललाई चालकले ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

ट्रकले विद्यार्थीको ज्यानलिएपछि आक्रोशित आफन्त र लम्की बहुमुखी क्याम्सका विद्यार्थीले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनापछि चालक फरार छन्।