आन्तरिक ऋण उठाउने तयारीमा सरकार

काठमाडौं, बैशाख २० । गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

 

चालु बजेटको लक्ष्यअनुसार राजस्व संकलन नभए पनि खर्च कम हुँदा सरकारलाई आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता नपरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा यो वर्ष राजस्व राम्रो उठेका कारण आन्तरिक ऋण उठाउनु नपरेको बताएका थिए। तर उनकै सरकारले आन्तरिक ऋण उठाउन फाइल खोलिसकेको थियो।

 

चालु आवको चैत महिनासम्म राजस्व लक्ष्यभन्दा ८५ अर्ब ६२ करोड रुपैयाँ कम संकलन भएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले पाँच खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यही अवधिमा उसले ६ खर्ब ६० अर्ब रुपैयाँ खर्च गरेको छ। त्यस्तै, सरकारले चैत मसान्तसम्म एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँको वैदेशिक सहायताको प्रतिबद्धता जुटाएको छ। उक्त प्रतिबद्धतामध्ये अनुदान सहायतातर्फ १८ अर्ब ४४ करोड र ऋण सहायता ९३ अर्ब ६९ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारी कोषमा अहिले एक खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ बचत छ।

 

 

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आन्तरिक ऋण परिचालनका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए। ‘सरकारले आवश्यकता र औचित्य हेरेर आन्तरिक ऋण उठाउने हो,’ उनले बिहीबार नागरिकसँग भने, ‘यो वर्ष अहिलेसम्म ऋण उठाउनु परेको थिएन। अहिले उठाउने प्रक्रियामा छ।’ राजस्व संकलन, वैदेशिक सहायता तथा खर्चको आधारमा आवश्यकता अनुसार सरकारले आन्तरिक ऋण परिचालन गर्न सक्ने उनको भनाइ छ। ‘वित्तीय स्थायित्व कायम गर्नका लागि पनि आन्तरिक ऋण उठाउनुपर्ने हुन्छ,’ प्रवक्ता खत्रीले भने। बजारमा तरलताको अवस्थालगायत विभिन्न पक्षलाई हेरेर ऋण उठाउने गरेको उनले बताए।याे समाचार नागरिक दैनिकमा छ ।