व्यक्तिको नाममा गरिएका सार्वजनिक जग्गा खोजी शुरू

भक्तपुर, बैशाख २८ । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएर देशब्पापी तरङ्ग फैलिएसँगै भक्तपुरमा पनि ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु गरिएको छ ।

 

प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका जग्गाहरुको स्थलगत निरीक्षण गरिएको छ ।

 

निरीक्षणका क्रममा विभिन्न भु–माफियाहरुले भक्तपुरको मध्यपुर थिमी नगर पालिकाका चार स्थानमा करिव १ सय ६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएको छ ।

 

जसमा कौशलटार सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरिएको तथ्य सार्वजनिक भएको छ ।

 

हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा पूर्व भुमिसुधार मन्त्री जगन्नाथ आचार्यको पालामा व्यक्तिको नाममा लगिएको स्थानीय बताउँछन् । मन्त्री भएको समयमा आचार्यले आफ्नो श्रीमती विमली उपाध्यायको नाममा ५४ रोपनी दर्ता गरिएको तथ्य सार्वजनिक भएको सांसद बस्नेतले बताउनुभयो । उपाध्यायको नामबाट हाल विभिन्न व्यक्तिको नाममा जग्गा दर्ता गराई सकिएको उहाँको भनाई छ ।राजधानी दैनिकबाट।