मदन स्मारक स्कूलको करोडौं पर्ने जग्गा अतिक्रमण

ललितपुर, बैशाख २८ । ललितपुर महानगरपालिका पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको झन्डै ७ करोड मूल्यबराबरको जग्गा अतिक्रमणमा परेको छ । ललितपुर महानगरपालिका–३ मा पर्ने मदन स्मारक मावि क्षेत्रभित्र रहेको जग्गा अतिक्रमणमा परेको हो । बाटो विस्तार गर्ने क्रममा सरकारी विद्यालयको ८ आना जग्गा अतिक्रमणमा परेको हो । ललितपुर–३ र २० नम्बर वडाको सिमानामा पर्ने विद्यालयको पूर्वतर्फको खाली जग्गाका विषयमा सडक विस्तारका क्रममा दुई वडाध्यक्षले मापदण्डविपरीत एकतर्फी निर्णय गर्दा अतिक्रमणमा परेको स्थानीयको आरोप छ ।

 

महानगरपालिकाले भने २०४४ सालमा लागू गरिएको गाइडलाइन डेभलपमेन्टनुसार सडक विस्तार गर्ने क्रममा बाहिरी पर्खाल भत्काउने उद्देश्यले विस्तारको काम भएको बताएको छ । महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो कार्य नियमसंगत नै गरिएको दाबी गरे ।

 

विस्तारका क्रममा वडाको ठाडो हस्तक्षेपमा विद्यालयलाई जानकारी नदिई कम्पाउन्डभित्र नै पक्की पिल्लरसहितका पर्खाल निर्माण गरिएको हो । यसरी विद्यालयका भौतिक सम्पत्तिमा क्षति हुनेगरी काम हुँदा विद्यालय व्यवस्थापनलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, आफूहरूलाई जानकारी नै नदिई यो सबै काम गरिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ । सो क्षेत्रमा जग्गाको मूल्य हाल प्रतिआना ७० लाखदेखि करोडसम्म रहेको स्थानीयको दाबी छ ।

 

वडा नं। ३ का वडाध्यक्ष चन्द्रलाल महर्जनले नगरपालिकाको मापदण्डनुसार पुरानो मिश्रित बसोबास रहेको क्षेत्रमा पर्ने र यस्ता स्थानमा खाली भएको तर्फ जग्गा छोड्नुपर्ने हुन्छ । सोहीनुसार मदन स्मारक विद्यालयको जग्गासमेत पर्न गएको उनको भनाइ छ ।

 

विद्यालय बचाउ अभियानमा सक्रिय पृथबिन्दु महर्जन, महेशराज बज्राचार्यलगायतका स्थानीयले १९ वैशाखमा जिल्ला प्रशासनलाई लिखित रूपमै ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रशासनले भइरहेको काम रोक्न निर्देशन दिएको थियो । जग्गा अतिक्रमण हुँदा विद्यालयसमेतले आफूलाई प्राप्त अधिकार उपयोग गर्न सकेको छैन । विद्यालयले कम्पाउण्डभित्र पिल्लरसहितका पर्खाल बन्दा रोक्नका लागि सम्बन्धित वडा कार्यालय तथा नगरपालिकासँग जानकारी माग गनुपर्नेमा पर्खालको आधा भाग निर्माण भइसक्दासमेत कुनै प्रतिक्रिया जनाएको थिएन । विद्यालयले यसबारे आफूहरूलाई कुनै जानकारी नगराई काम अघि बढाएको बताएको छ ।

 

विद्यालयबाट स्वीकृति लिएको अवस्थामा व्यवस्थापन समितिबाट स्वीकृत गराउनुपर्ने हुन्छ । यस अवस्थामा बाटो विस्तार सम्भव नहुने भएकाले विद्यालयसँग अनुमति नलिइ काम गरेको वडाध्यक्ष महर्जनले प्रस्ट पारे ।

 

मापदण्डनुसार सडक विस्तार गर्दा सडकको केन्द्रबाट दाँयाबाँया ९ फिट बढाउनुपर्ने र यसका लागि दुवैतर्फ बराबर अर्थात् साढे ४ फिट मात्र बढाउनुपर्ने नियम रहेको छ । तर, यसलाई बेवास्ता गर्दै महानगरपालिकाका यी २ वडाले विद्यालयतर्फको भागमा मात्र ९ फिट बढाएका छन् । स्थानीयले विभिन्न व्यक्तिका व्यक्तिगत स्वार्थनुसार बढाँउदा यस्तो समस्या निम्तिएको आरोप लगााएका छन् ।

 

स्थानीयले जिल्ला प्रशासन कार्यालयमा लिखित रूपमा ध्यानाकर्षण गराएपछि मात्रै आफूले जानकारी पाएको र जिल्ला प्रशासनको आदेशमा हाल निर्माणको काम रोक्का गरिएको छ । विद्यालयको नाममा कुल २५ रोपनी जग्गा रहेको छ । यी जग्गासमेत विभिन्न समयमा लिजमा दिइएको छ । सपिङ कम्प्लेक्ससमेत निर्माणको अनुमति दिँदा विद्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा अतिक्रमणमा पर्न गएको हो ।

 

मापदण्डनुसार सडक विस्तार गर्दा सडकको केन्द्रबाट दाँयाबाँया ९ फिट बढाउनुपर्ने र यसका लागि दुवैतर्फ बराबर अर्थात् साढे ४ फिट मात्र बढाउनुपर्ने नियम रहेको छ । तर, यसलाई बेवास्ता गर्दै महानगरपालिकाका २ वडाले विद्यालयतर्फको भागमा मात्र ९ फिट बढाएका छन् । राजधानी दैनिका