मौसम बदली रही हावाहुरी र वर्षा हुने सम्भावना सबैलाइ सतर्क रहन आग्रह

काठमाडौं ,बैशाख २९ ।आज देशभर मौसम बदली रही हावाहुरी र वर्षा हुने सम्भावना रहेको छ ।पश्चिमी वायुको प्रभावले आज आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

 

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन् ।

 

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि आइतबार देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

सोमबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।