दश अर्ब लगानीमा सिंहदरबारभित्र संसद भवन बन्ने

काठमाडौँ,वैशाख ३० । सिंहदरबारभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ । करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको दोस्रो हप्ता अन्तिम रूप दिएर ‘ग्लोबल टेण्डर’ प्रक्रियामा लैजाने तयारी शहरी विकास मन्त्रालयको छ ।

नेपाल सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६५ सालदेखि संसद बैठकका लागि भाडामा प्रयोग गर्दैआएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई मासिक १५ करोड रुपियाँ भाडा तिर्दा अर्बौ रुपियाँ भाडामै खर्च भइसकेको छ ।

शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार, सिंहदरबारमा निर्माण गरिने संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको छ । शहरी मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर संसद परिसर निर्माण प्रक्रियालाई अगाडि बढाएको जानकारी दिँदै प्रवक्ता दवाडीले भन्नुभयो, “जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेण्डर’ प्रक्रियामा लगिनेछ । यसका लागि ग्लोबल ‘टेण्डर’ आह्वान गरिने छ ।”

उहाँका अनुसार, २०७८ सालको असारसम्म संसद परिसर निर्माण गरिसक्ने लक्ष्य छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा छ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने दाबी उहाँको छ ।

उहाँले भन्नुभयो, “प्रस्तावित संसद परिषद्को नक्सा तथा डिजाइनबारे विज्ञसहित छलफलमा छौँ । तयार पारिएको नक्सा र डिजाइनमा केही संशोधन गर्नुपर्ने अवस्था आएकाले नक्सा र डिजाइनलाई अन्तिम रूप दिने कार्य भइरहेको छ ।” उहाँले सिंहदरबारको उत्तर–पूर्वमा रहेको पुतली बगैँचामा संसद परिसर निर्माण गरिने जानकारी दिनुभयो ।

यस्तो बन्दैछ संसद परिसर

मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो आयोजनाको रुपमा संसद परिसर निर्माण हुँदैछ । यसको कूल निर्माण लागत करिब दश अर्ब रुपियाँ हुने जनाइएको छ ।

प्रवक्ता दवाडीका अनुसार, प्रस्तावित संसद परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक दलका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र तिनका हल, करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुटाछुट्टै निर्माण गरिने छ । परिसर भवनमा तीनतले स्मार्ट पार्किङस्थल समेत निर्माण गरिने छ ।

उहाँका अनुसार, परिसरमा राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुइटै संसदका सदस्य र विशिष्ट पाहुनाहरु समेत अटाउने एक हजार क्षमताको विशाल सभाहल समेत निर्माण गरिने छ ।

परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्वार निर्माण गरिने जनाइएको छ । त्यसैगरी, संसद परिसरमा बगैँचा र चौर समेत रहने छ ।यो समाचार भउचप्रसाद यादवले गोरखापत्रमा लेखेका छन ।