११७ वर्षीयाको जीवनकथा,जानकारीकाे लागि पुरा पढ्नुस्

काठमाडौं, वैशाख ३० । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सर्नुभएको ७१ वर्ष पुग्यो ।

त्यतिबेला उहाँले ४५ टेक्नुभएको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा हुनुहुन्थ्यो । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुग्नुभयो ।

अहिले ११७ वर्ष टेक्नु भएकी बाटुलीेले शनिवार उहाँकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाउनुभयो । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भन्नुभयो, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”

उहाँका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् ।
ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आफ्ना बुवाले भनेको सम्झिँदै भन्नुभयो, “२०२३ सालमा चुनाब जित्नुभएका दुर्गादत्त हुमागाईले बाटुली लामिछानेलाई दिदी भन्नुहुन्थ्यो । हुमागाई दिवङ्गत हुनुभएको झण्डै ५० वर्ष बितेको छ । गाउँमा बाटुली आमाले परिचित लामिछानेका छोरा नेत्रप्रसाद लामिछानेका चार छोरी छन् । उमेरले ७६ वर्ष पुगेका नेत्रप्रसादका छोरीतर्फका नाती श्याम ढुङ्गानाले केही महिना अघि मात्रै छोरा जन्माउनु भयो, त्यो बाटुलीले देखेको पाँचौ पुस्ता हो ।

१९५९ चैत १० गते जन्मिनुभएकि लामिछाने अहिलेसम्म प्राप्त र अद्यावधिक तथ्याङ्कमा नेपालकै ज्येष्ठ नागरिकको रुपमा दर्ज हुनुभएको छ । उक्त तथ्यलाई पुष्टी गर्दै लामिछानेको सम्मान गर्न थानसिङ पुग्नु भएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालले उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । “राम्रो खाएर र लगाएर मात्रै आयु निर्धारण हुन्न, स्वास्थ्यप्रतिको सचेतना, जीवनशैली र वातावरणीय प्रभावले मानिसको उमेर निर्धारण हुन्छ”– मन्त्री थापा थप्नुहुन्छ ।

उहाँको उपचारमा संलग्न चिकित्सक सविना खतिवडाले भने रतmचाप, मुटुको चाल नियमित देखिएकाले तत्कालै उहाँको स्वास्थ्यमा कुनै समस्या नहुने बताउनुहुन्छ । रगत परीक्षणका लागि नमूना लिइएको छ । परीक्षणपछि उहाँको स्वास्थ्य स्थितिबारे बुझ्न थप सहयोग मिल्ने डा। खतिवडाले बताउनुभयो ।

लामिछाने बोल्न र सामान्य हिंडडुल गर्न सक्नुहुन्छ । तर सहयोगको आवश्यकता पर्छ । उहाँले बोल्नुभएको बुझाउन रेखदेख गर्दै आउनुभएका छोरा नेत्रप्रसाद र बुहारी इश्वरीले बुझाउने गर्नुहुन्छ । बिहान र बेलुकी दूध भात मात्रै खाने बाटुली वर्षदिन अघिसम्म खेतबारीको सामान्य काम गरेको देखेको ७० वर्षीय विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले बाटुली लामिछाने राष्ट्रिय सम्पत्ति भएको बताउनुहुँदै उहाँको घरसम्म पुग्ने बाटो निर्माण गरी उक्त बाटोलाई बाटुली मार्ग नामाकरण गर्नुपर्ने वताउनुहुन्छ । गाउँपालिकाले बाटुलीको रेखदेख र भरणपोषणको लागि मासिक दशहजार रुपियाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले जनगणना २०६८ बमोजिम नेपालमा सयवर्ष कटेका ज्येष्ठ नागरिकको संख्या तीन हजार ४०० रहेको बताउनुहुन्छ । बाटुली बाहेक ११५ वर्ष कटेको मन्त्रालयमा तथ्याङ्क छैन । जन्म मितिको आधारमा बाटुलीको उमेर ११६ वर्ष ४० दिन पुगेको छ ।

विकिपेडियाका अनुसार विश्वकै सबैभन्दा जेठो जीवित व्यक्ति जापानका कान टनाका हुनुहुन्छ । विकिपेडियाको उक्त अभिलेखमा उहाँको उमेर ११६ वर्ष १३० दिन छ । इटालीका मारिया जिएसेप्पा रेबुकीको उमेर ११६ वर्ष ५३ दिन छ । तेस्रोमा फ्रान्सका सोइ आन्द्रेलाई देखाइएको छ । उहाँको उमेर ११५ वर्ष ९० दिन पुगेको छ । तर जेठो उमेरका व्यतिको विकिपेडियाको सूचीमा नेपालकी बाटुली लामिछानेलाई राखिएको छैन । सहसचिव राईले विश्वको जेठो व्यतिmको सूचीबारे अध्ययन अनुसन्धान गर्न भनिएको बताउनुहुँदै बाटुलीलाई सूचीकृत गर्ने काममा अग्रसरता लिइएको प्रष्ट्याउनुभयो ।गाेर्खापत्र दैनिकबाट।