नेपाल टेलिकमको सिमले अबको केही महिनामा बजारको सामान किन्न पनि सकिने

अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् ।

 

 

मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले बिहीबार संयुक्त रूपमा कम्पनी स्थापना गरी मोबाइल मनी सेवा दिने समझदारी गरेका हुन् ।

 

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी र राष्ट्रिय वाणिज्य बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन् । दुई कम्पनीले यसअघि वैशाख ३ गते डिजिटल फाइनान्स कम्पनी खोल्नका लागि प्रारम्भिक समझदारी गरेका थिए ।

 

डिजिटल फाइनान्स कम्पनी सञ्चालन गर्न टेलिकम र वाणिज्य बैंकको सञ्चालक समितिले प्रस्ताव पास गरिसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘टेलिकमले सहायक कम्पनीमार्फत डिजिटल फाइनान्स कम्पनी सञ्चालन गर्न पाउँछन्,’ उनले भने, ‘टेलिकमको प्रविधि र वाणिज्य बैंकको बैंकिङ प्रणाली प्रयोग गरी सेवा सञ्चालन गर्नलागेका हौं ।’

 

आगामी महिनामा कम्पनी दर्ता प्रक्रिया सकेर सेवा सञ्चालनको विविध विकल्पमा छलफल थाल्ने अधिकारीले जानकारी दिए । ‘मोबाइलमा रहेको ब्यालेन्सबाटै सामान किनेको पैसा तिर्न मिल्ने, विभिन्न सेवाहरूको शुल्क तिर्ने मिल्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘प्रयोगकर्ताको मोबाइल नम्बर नै उनीहरूको एकाउन्ट बन्नेछ ।’

 

जति सक्दो छिटो सेवा सञ्चालनका लागि काम अघि बढेको उनले बताए । ‘टेलिकमले सहायक कम्पनीमार्फत डिजिटल फाइनान्स सेवा दिन दूरसञ्चार प्राधिकरणको स्वीकृति चाहिन्छ,’ उनले भने, ‘प्राधिकरणले स्वीकृति दिएपछि राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनी स्थापना हुन्छ ।’

 

टेलिकमको सहायक कम्पनीका रूपमा स्थापना हुने भएकाले डिजिटल फाइनान्स कम्पनीमा टेलिकमको बढी सेयर हुनेछ । मोबाइल मनी सञ्चालनको लागि टेलिकमले भविष्यमा उत्पादन गर्ने सिम मोड्युलमा नै यसलाई सपोर्ट गर्ने प्रविधि जडान गर्ने उनले बताए । ‘पुराना सिमबाटै सेवा लिनेहरूले भने एपमार्फत सेवा लिन सक्नेछन्,’ उनले भने, ‘टेलिकमको यस्ता सेवा सञ्चालन गर्दा बैंकिङ पहुँच नभएका ठाउँमा पनि सेवा पुग्छ ।’

 

मोबाइल सेवातर्फ मात्रै टेलिकमका डेढ करोड बढी ग्राहक छन् । टेलिकमका मोबाइल ग्राहकले सजिलै आफ्नो नम्बरमार्फत यस्तो सेवा प्रयोग गर्न सक्ने भएकाले यो बढी प्रभावकारी हुने अनुमान छ । टेलिकमले यस्तो सेवा सुरु गरेपछि अहिले चल्तीमा रहेका डिजिटल वालेट र डिजिटल भुक्तानी सेवा प्रदायकका लागि पनि प्रतिस्पर्धा बढ्नेछ ।