प्रेम विवाह गरेपछि मुसहर परिवारमाथि ज्यादती

 मोरङ,बैशाख ३१।मोरङ बुढीगंगा गाउँपालिकाका एक मुसहर युवाले अर्कै जातकी युवतीसँग प्रेम विवाह गरेपछि उसको परिवार र आफन्तमाथि ज्यादती भएको छ । सख्मा टोलका २२ वर्षीय शनि ऋषिदेवले सोही ठाउँकी अन्दाजी १८ वर्षीया सिर्जना थापा मगरसँग प्रेम विवाह गरेको आरोप केटी पक्षले लगाएको छ । शनिका आमाबाबुले आफ्नो छोरा सम्पर्कमा नभएको दाबी गर्दै आएका छन् ।

 

दलित समुदायका शनिले एसइई परीक्षा सकिनासाथ गत १८ चैतमा सिर्जनालाई भगाएर लगेको केटी पक्षको आशंका छ । दुवै परिवारको सम्पर्कमा छैनन् । तर, सिर्जनाका आफन्तहरू प्रह्लाद, समिर, सबिन, धीरेन, किरण, रामबहादुर थापालगायतले केटी खोजेर नल्याएमा गाउँमा बस्न नदिने, बालविवाह, अपहरण र ज्यान मुद्दा लगाउनेलगायत मानसिक तनाव दिने गरेको शनिका मामा दीपनारायण ऋषिदेवले बताए । शनिको परिवार अहिले गाउँबाटै विस्थापित भएका छन् ।दीपनारायणका अनुसार केटी पक्षको धम्कीका कारण बस्तीका पाँच घरका मानिस त्रासमा छन् । केटी पक्षले आफ्नो छोरीलाई खोजेर ल्याउन धम्की दिँदै मुसहर समुदायले प्रयोग गर्दै आएको पानी खाने चापाकल भत्काइदिएका छन् ।

२० दिनअघि दुवै पक्षबीच झडप, मुसहर समुदायलाई जरिवाना

२० दिनअघि मुसहर र थापा मगर समुदायबीच झडप भएको थियो । झडपमा केटा पक्षका पाँच र केटी पक्षका ६ जना घाइते भएका थिए । तर, समाजले मुसहर समुदायलाई दोष दिँदै १३ हजार जरिवाना तिर्न लगायो । सुरुमा आक्रमण भने केटीका आफन्तहरूले नै गरेका थिए । सोही झडपपछि केटीका आफन्तले सार्वजनिक चापाकल भत्काइदिएका हुन् । केटाकेटीको विषयले मुसहर समुदायमाथि भएको अत्याचारबारे स्थानीय जनप्रतिनिधि पनि जानकार थिए । तर, विभिन्न खालका दबाबले गर्दा उनीहरू खुल्न सकेका छैनन् । जसका कारण दुवै पक्षबीच पटक–पटक झडप हुँदै आएको छ ।

ल शान्तिसुरक्षाको माग गर्दै प्रशासनमा निवेदन

केटी पक्षले चापाकल भत्काएर पानी खानसमेत वञ्चित गरेपछि पीडित खकरी ऋषिदेवले प्रहरी र जनप्रतिनिधि गुहारिन् । उनले जिल्ला प्रहरी कार्यालय मोरङ र बुढीगंगा गाउँपालिकामा पानी खाने वातावरण बनाइदिन र शान्तिसुरक्षा गरिदिन भन्दै निवेदन दिइन् । मोरङ प्रहरीले घटनास्थल पर्ने इप्रका निमुवालाई समस्या समाधान गरिदिन निर्देशन दियो । सोही निर्देशनअनुसार केटा र केटी पक्षबीच विवाद मिलाउन सोमबार छलफल भएको इप्रका निमुवाका सइ मनोज अधिकारीले बताए । छलफलमा सहभागी बुढीगंगा गाउँपालिका–२ का वडाध्यक्ष रेवतीनारायण चौधरीले भने, ‘केटीको उमेर नपुगेकाले केटा पक्षले केटी खोज्न पहल गर्ने र केटी पक्षले कलको पानी खान दिन सहमति बनाउने प्रयास गर्दै छौँ ।’

 

स्थानीय दलित अगुवा गुरुशरण ऋषिदेवले केटाकेटी प्रेम गरेर राजीखुसी भागेको र कहाँ छन् भन्ने पत्तोसमेत नभएकाले जबर्जस्ती ‘केटी खोजेर ले नत्र भन्दै धाकधम्की दिनु र कल भत्काएर पानीसमेत खान नदिई अमानवीय कार्य गर्नेलाई कानूनी कारबाही गर्नुपर्नेमा दबाबमा सहमति गराउन खोज्नु अन्याय भएको बताए ।

मुसहर समुदायमाथि अत्याचार जारी रहे संघर्ष स् पूर्वसांसद पासवान

पूर्वसांसद बाबुलाल पासवानले केटी पक्षले एकोहोरो धम्की दिँदै आक्रमणसमेत गरेकाले केटाका बाबुआमा विस्थापित हुनुपरेको बताए । उनले केटाकेटी खोज्न सबैले सहयोग गर्ने, तर फेरि पनि केटाका आफन्त र समुदायमा अत्याचार भएमा आफूहरूले न्यायका लागि संघर्ष थाल्ने चेतावनी दिए ।

दोषी जो देखिए पनि कारबाही हुन्छ स् एसपी केसी

मोरङका एसपी मनोज केसीले कम उमेरकी युवतीलाई भगाएर लाने वा बिहे गर्ने अधिकार कसैलाई पनि नभएकाले छलफलबाटै समस्या समाधान गराउन इप्रका निमुवालाई निर्देशन दिएको जानकारी दिए । तर, केटी पक्षको धम्कीले केटाका बाबुआमा विस्थापित हुन बाध्य भएको र केटीका आफन्तले कल भत्काएर पानीसमेत खान नदिएको घटना आफूलाई जानकारीमा नआएको बताए । ‘उमेर नपुगी बिहे गर्नु र कल भत्काएर पानी खान नदिई धाकधम्की दिनु दुवै गैरकानुनी हो, त्यस्तो हो भने कारबाही हुन्छ,’ उनले भने ।याे समाचार नयाँ पत्रिकादैनिकमा छ।