सरकारी कर्मचारीको तलब मासिक ६ हजार

नुवाकोट, बैशाख ३१ । जिल्लाका हुलाकका अधिकांश कर्मचारी न्यूनतम तलबमा काम गर्न बाध्यछन्। अतिरिक्त समूहका १८१ र करार सेवाका २८ कर्मचारीले न्यून तलबमा काम गर्दै आएका हुन्।

 

विदुरस्थित हुलाक कार्यालयमा अतिरिक्त समूहका १८१ जनालाई ६ हजार ६२ देखि ६ हजार नौ सय २५ र करार सेवामा रहेका २८ कर्मचारीले मासिक आठ हजार रुपैयाँमा काम गरिरहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

 

हुलाक प्रमुख नारायणप्रसाद चापागाईँका अनुसार अतिरिक्त र करार सेवाका कर्मचारीले रोजगारीको सुनिश्चितता नभएको र उचित पारिश्रमिक नभएको र उचित पारिश्रमिक नपाएको गुनासो गरेका छन्।

 

जिल्ला हुलाकसहित मातहतका १३ स्थानमा इलाका र ५० स्थानमा अतिरिक्त हुलाक कार्यालय छन्। ती कार्यालयमा ७२ कर्मचारीले ६ हजार ६२ र ४९ जनाले ६ हजार नौ सय २५ रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। तलब वृद्धि र स्थायी हुने प्रक्रिया मिलाउन उनीहरूले माग गरेका छन्।