बिहे गरी डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै १८ लाख ठग्ने दुई युवती पक्राउ

काठमाण्डौँ, बैशाख ३१ । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनि विभिन्न ब्यक्तिहरुसँग रकम लिएको आरोपमा दुई जना पक्राउ परेका छन्।

 

सुनसरी बर्जु गाउँपालिका–६ घर भई हाल कामनपा १० नयाँबानेश्‍वर बस्ने २३ बर्षकी रेजिना अधिकारीले आँफु अष्ट्रेलियाको पिआर होल्डर भएको भनी काठमाण्डौ गोकर्णेश्‍वर–४ माकलवारी बस्ने अमित श्रेष्ठसंग कोर्ट म्यारिज समेत गरी डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै चार लाख पचास हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

रकम लिई सम्पर्क विहिन भएपछि निज पिडितले दिएको जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीलाई मंगलबार मध्यबानेश्‍वर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

 

प्रारम्भिक अनुसन्धानमा उनले भक्तपुर चाँगुनारायण नगरपालिका वडा ३, दाहाल गाउँ बस्ने सागर धमला समेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको खुलेको छ ।

 

प्रहरीले रेजिना अधिकारीलाई सो कार्यमा परिचालन गर्ने सिन्धुली कमलामाई नगरपालिकाका एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसवारीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङवो पनि मंगलबार पक्राउ गरेको छ ।

 

पछिल्लो समय डिपेन्डेन्ट भिसामा विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने घटनाहरु दिनानुदिन बढ्दै गईरहेको छ । यस्ता सम्भावना पुनः दोहोरिन सक्ने भएकोले समयमै सजग तथा सचेत रहन महानगरीय अपराध महाशाखाले अनुरोध समेत गरेको छ ।