कीरा र रोगबाट बचाउन तरकारीबालीमा कडा खालको विषादी

डडेल्धुरा,जेठ १। बढी उत्पादनका साथै कीरा र रोगबाट बचाउन भन्दै यहाँका किसानले तरकारीबालीमा विषादीको प्रयोग बढाउँदै लगेका छन् । मानव शरीररमा पर्नसक्ने असरबारे ज्ञान नहुँदा तरकारीमा यहाँका किसानले आवश्यकभन्दा बढी र कडा खालको विषादी प्रयोग गर्दै आइरहेका छन् ।

 

मानव शरीरमा पर्नसक्ने असरका बारेमा ज्ञान नहुँदा र बढी उत्पादन हुने आशमा तरकारीबालीमा कडा खालको विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । आलु, गोलभेँडा, काउली, भन्टा, सिमी, काँक्रा, लौकालगायत दैनिक उपभोग्य तरकारीमा कडा खालको विषादी प्रयोग हुँदै आएको छ । पर्याप्त जानकारी नहँुदा कडा खालका विषादी पनि प्रयोग भएको हुनसक्ने र यसबारेमा जनचेतना बढाउँदै लानुपर्ने राय अजयमेरु– ५ देवलका टेक खड्काको भनाइ छ ।

 

आवश्यकभन्दा बढी विषादी प्रयोग भएका तरकारी खाँदा मुटुरोग, श्वासप्रश्वास, छाला, मिर्गौलालगायत जटिल रोग लाग्न सक्ने डडेल्धुरा अस्पतालका डा जीतेन्द्र कँडेल बताउनुहुन्छ । त्यस प्रकारका तरकारी र खाद्य सामग्रीको भान्सामा प्रयोग हुने हो भने दीर्घकालीनरुपमा स्वास्थ्यमा असर देखा पर्नसक्ने डा कँडेलको भनाइ छ ।रासस