प्रहरीको कुटाइबाट ७४ बर्षिय वृद्धको मृत्यु

बैतडी,जेठ १ । प्रहरीको कुटाईबाट ७४ बर्षीय वृद्धको मृत्यु पछि उनका आफन्तले ज्यान मारेको आरोप लगाउदै ५ प्रहरी विरुद्ध उजुरी दिएका छन् । बैतडीको पाटन नगरपालिका ६ लदेडाका ७४ बर्षीय कमलाकान्त पन्तको प्रहरीको कुटाईबाट मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् ।

 

वैशाख ३० गते राती कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो । पन्तले हसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते भएका थिए । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयको आरोप छ । लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो ।

 

कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले ५ प्रहरी विरुद्ध कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए ।

 

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।