खुर्सानीको धुलो छर्किएर लुटपाट गर्ने पक्राउ

रूकुम पश्चिम , जेठ ४ । आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी लुटपाट गर्ने तीन युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

 

भूमे गाउँपालिका–६ का डम्बर बुढा र उहाँकी श्रीमती सीता घर्तीलाई आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी नगद एक लाख रूपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–१ रोकाजाका २० वर्षीय टेकबहादुर बुढा, सोही ठाउँका १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेका छन् ।

 

पक्राउ परेकामध्ये टेकबहादुरले बुढा दम्पतीबाट गतवर्ष साउनमा रातो च्याउ उपलब्ध गराउने भन्दै ८५ हजार लिएको प्रहरीले जनाएको छ ।

 

पटक–पटक पैसा माग्दा च्याउ पनि नपाएको र रकमसमेत फिर्ता नपाएपछि बुढा दम्पती यार्साको व्यापारका लागि आठबीसकोट हुँदै डोल्पा जाने क्रममा टेकबहादुरले आफूले लिएको पैसा फिर्ता दिन्छु भन्दै लगेर आठबीसकोट–६ ढाटथल भन्ने ठाउँमा योजनाबद्ध रुपमा आक्रमण गरी पैसा लुटेको प्रहरीको भनाइ छ ।

 

टेकबहादुर र उनका साथीले ज्यान मार्ने उद्देश्यले नै बुढा दम्पतीमाथि आक्रमण गरेको तर उनीहरु चिच्याएपछि स्थानीयवासीले थाहा पाउँदा उनीहरु नगद लिएर भागेका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । रासस