सानाले घुस लिए अब ठूला पनि तानिने

काठमाडौं, जेठ १२ । अब साना कर्मचारीले घुस लिएको पाइएमा विषयगत मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशकदेखि कार्यालय प्रमुखसम्म छानबिनको घेरामा पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने तयारी गरेको हो ।

 

अहिले अख्तियारको स्टिङ अप्रेसनमा प्रायः साना कर्मचारी मात्रै पर्ने गरेका छन् । कार्यालय प्रमुख तथा उच्च अधिकारीको संकेत पाएरै साना कर्मचारीले घुुस लिने र सो घुसको भागबन्डा माथिल्लो तहसम्मै पुग्न सक्ने विश्लेषण गर्दै अख्तियारले माथिल्लो तहका अधिकारीलाई समेत छानबिनको घेरामा ल्याउने भएको हो ।

 

अख्तियारले कार्यालय प्रमुखको निर्देशन तथा मिलेमतोबिना यस्तो काम सम्भव नहुने निष्कर्ष निकाल्दै उच्च तहका जिम्मेवार कर्मचारीसमेतलाई छानबिन गर्ने भएको हो । यसरी, आर्थिक लाभ लिने तथा अख्तियारको दुरुपयोग गरी कानुनविपरीतका गतिविधिमा संलग्न भएको पाइएमा संलग्न कर्मचारी तथा कार्यालयका प्रमुखसम्मको संलग्नता रहे÷नरहेको बारे छानबिन गर्ने भएको हो ।

 

कुनै कार्यालयका कर्मचारीले घुस खाएमा कार्यालय प्रमुख, विभागका कर्मचारीले घुस खाएमा महानिर्देशक तथा मन्त्रालयका कर्मचारीले घुस खाएमा सचिव तथा मन्त्रीहरूमाथि नै छानबिन हुन सक्ने स्रोतको भनाइ छ ।

 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले कुनै पनि कार्यालयका कर्मचारी घुससहित पक्राउ परेको तथा आर्थिक लाभ लिएको र अख्तियारको दुरुपयोग गरेको पाइएमा सुपरिवेक्षण गर्ने जिम्मेवारीमा रहेका कार्यालय प्रमुखसमेत दोषी हुन सक्ने सम्भावनाको आधारमा उनीमाथि समेत छानबिन गरिने जानकारी दिए । जापान, बेलायतजस्ता विकसित देशमा कुनै पनि कार्यालयका कर्मचारीले घुस खाएको पाइए सो कार्यालयका प्रमुखलाई समेत छानबिन गरी कानुनी दायरामा ल्याउने प्रचलन छ । अन्तर्राष्ट्रिय रूपमा नै यस्ता धेरै अभ्यास रहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकबाट।