विप्लव नेकपाको बम विस्फोटमा संलग्‍नता’: तीनको मृत्यु, ६ जना घाइते

काठमाडौँ,जेठ १२। आइतबार राजधानीका दुई स्थानमा भएको सिलिन्डर ‘बम’ विस्फोटमा तीन जनाको ज्यान जाने गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीको संलग्नता रहेको सुरक्षा कर्मिले पुष्टि गरेका छन्।

 

करीब एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोटमा तीनजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए छन्। घाइतेमध्ये दुइजना विप्लका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

 

घट्टेकुलोको एक तले घरमा भएको सिलिन्डर बम विस्फोटमा परी घाइते भएका व्यक्ति नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीका नेता रविन केसी भएको खुलेको छ। प्रहरी श्रोतका अनुसार अनामनगरको घट्टेकुलोस्थित एकतल्ले घरमा भएको सिलिन्डर विस्फोटमा घाइते उनको वीर अस्पतालमा उपचार भइरहेको छ। उनी क्रान्तिकारीका त्रिचन्द्र कलेजका इकाइ सभापति हुन्।

 

त्यस्तै, सुकेधारामा भएको बम विस्फोटमा घाइते हुने विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेको खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार महर्जन सोही स्थानको बम विस्फोटमा परेर गम्भीर घाइते भएका हुन्।

 

उनी नख्खुमा एनसेलमा भएको बम विस्फोटमा प्रहरीको खोजी सूचीमा थिए।भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको थियो ।