राजधानीमा बम विस्फोट गराउने आफैँ मारिए

काठमाडौँ,  जेठ १३। राजधानीको अनामनगर र सुकेधारामा आइतबार अपराह्न ४।१५ बजे बम विस्फोट हुँदा तीनको मृत्यु भएको छ जना घाइते भएका छन् ।

विस्फोटमा परी मर्नेहरुमा बम बनाउने तथा राख्ने काममा संलग्न रहेका व्यक्तिहरु भएको बताइएको छ ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार, अनामनगर अप्काहाउस पछाडि सङ्गमगल्लीस्थित लोकमञ्जरी कार्कीको घरको भुर्इंतलामा भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् ।

 

त्यस्तैं, सुकेधारा ढलाने पुल नजिकै रहेको शैलुन पसलभित्र बम विस्फोट हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, बम विस्फोटमा परी मर्नेमा एक जना ‘विप्लव’ समूहका कार्यकर्ता हुन् ।

राजधानीका विभिन्न स्थानमा बम राख्ने योजना अनुसार, प्रेसर कुकरबम निर्माण गर्दै गरेको अवस्थामा अचानक बम पड्किएको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार, अनामनगरस्थित कोठामा बनाई राखेको बम कतै राख्न लैजान खोज्दा कोठाभित्रै पड्किएपछि प्रज्ज्वल शाहीको मृत्यु र रविन केसी घाइते भएका हुन् ।

घाइते रविन केसी अखिल विप्लव समूह त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष हुन भने शाही सीटीईभीटीका विद्यार्थी नेता हुन् । घाइते केसीको ट्रमा सेन्टर वीर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सुकेधारा बम विस्फोटमा परी मृत्यु भएका दुईजनाको पहिचान हुन सकेको छैन । त्यस्तै, नेवा मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महर्जन घाइते भएकाले उपचारका लागि ओम अस्पताल पु¥याइएको छ ।

सोही घटनामा परी उपचारका क्रममा ओम अस्पतालमा एकजनाको मृत्यु भएको छ तर, मृतकको पहिचान हुन सकेको छैन । राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना अनुसार, टाइम बम निर्माण गर्दागर्दै विस्फोट भएको हुनसक्ने भनाइ प्रहरीको छ ।

अनामनगरस्थित विस्फोट भएको कोठाबाट विभिन्न दस्तावेज बरामद भएका छन् भने सुकेधारास्थित शैलुन पसलभित्र बसेर गफ गर्दै गरेको अवस्थामा झोलामा राखिएको प्रेसर कुकर बम विस्फोट भएको अनुमान गरिएको छ ।

घाइते महर्जन यसअघि कमलादीस्थित आगमन रेष्टुराँ वाहिर बम राखी फरार भएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका विप्लव कार्यकर्ता हुन् ।

यसैबीच नागढुङ्गा नजिकै ईंटाभट्टास्थित सडकमा बम विस्फोट हुँदा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
बम मोटरसाइकलमा राखी काठमाडौँ ल्याउने तयारी गर्दै गर्दा सो विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते हुेनमा विक्रम लामा रहेको र निजको शही मेमोरियल अस्पताल बलम्बुमा उपचार भइरहेको छ । अर्को घाइतेको पहिचान खुल्न सकेको छैन ।

सुरक्षा प्रभावकारी बनाउन निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था चुस्त प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा आइतबार साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक राखी यस्तो निर्देशन दिनु भएको हो ।

बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार, मन्त्री थापाले शृङ्खलाबद्ध बम विस्फोटका घटना नियन्त्रण गर्न उच्चसुरक्षा सतर्कता अपनाउन कुनै कसुर बाँकी नराख्न निर्देशन दिनु भएको छ ।

हिंसा सह्य हुदैन

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न दृढ रहेको वताउनुभएको छ ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले बारम्बार वार्तामा आउन आह्वान गरे पनि त्यसलाई अस्वीकार गरी हिंसामा उद्यत हँुदा आफै मारिएको मन्त्री बाँस्कोटाले वताउनुभयो ।

हिंसात्मक गतिविधिले कसैलाई फाइदा नगर्ने हुँदा यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले हिंसात्मक गतिविधि सरकारले नसहने स्पष्ट गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले भन्नुभयो– हिंसा र आतङ्क कुनै पनि हालतमा उचित हुँदैन,यसलाई सरकारले नियन्त्रण गर्छ ।यो समाचार आजको गोरखापत्रमा छ ।