विप्लवप्रति सरकार झन आक्रमक

काठमाडौं, जेठ १४ । आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रमक देखिएको छ ।

 

आइतबार नेकपाका नेता कार्यकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्ध रुपमा विस्फोटको घटना पछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइतबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा रहन निर्देशन दिएको छ।

 

बम बिस्फोटको घटनापछि चन्द नेतृत्वको दलको नियत नै वातावरणलाई भयभीत बनाउने र जनतालाई तर्साउने रहेको भन्दै सरकारले आफ्ना सुरक्षा अंगहरुलाई हाइ अलर्टमा रहन भनेको हो । गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायका प्रमुखहरुलाई सो निर्देशन दिएका हुन् ।

 

प्रहरीले समेत नयाँ रणनीतिसहित संकास्पद स्थानलाई उच्च निगरानीमा राखिएको जनाएको छ । यसैगरी राजधानी भित्रने नाकामा समेत प्रहरीले चेकजाँचलाई कडा बनाएको बताएको छ भने नाकाहरुमा तालिम प्राप्त कुकुरसमेत राखेको छ । यस्तै, सूचना संकलनका लागि सादा पोसाकमा समेत भन्दै प्रहरीले विशेष टोली खटाएको छ । राजधानी दैनिकमा खबर छ।