सरकारी कर्मचारीको तलव २० प्रतिशत बृद्धि,कुन पदको कर्मचारीको कति बृद्धि हेर्नुस

काठमाडौंँ, जेठ १६ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको तलबमा कम्तीमा १८ देखि २० प्रतिशतसम्म तलब वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

बजेटमा नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरु तलबमानमा आगामी २०७६ साउन १ देखि लागू हुने गरी राजपत्र अनङ्कित श्रेणीका लागि २० र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशतले वृद्धि भएको छ ।

तलब वृद्धि भएकोमा राष्ट्रसेवक कर्मचारीहरूले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । हरेक दुई–दुई वर्षमा तलब वृद्धि हुने कानुनी व्यवस्था भए पनि तीन वर्षपछि मात्रै तलब बढेको हो । यस अघि २०७३ मा २५ प्रतिशतले तलब बढेको थियो । त्यसपछि महँगी भत्ता मात्रै बढ्दै आएको थियो ।

बजेटमा राष्ट्रसेवकहरूमा कामप्रति तत्पर हुने, सेवाभावसहित समयमै काम सम्पन्ना गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिने उल्लेख छ । राष्ट्र सेवकहरूमा ज्ञान, सीप र पेसागत मर्यादाको विकास गरी सरकारी सेवा साथ उत्कृष्ट ढङ्गले प्रवाह गरिने छ ।

कर्मचारीहरूको सरुवा‚ पुरस्कार‚ सजाय‚ वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइने र योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालन गर्न संस्थागत व्यवस्था मिलाइने बजेटमा व्यवस्था छ ।

अर्थमन्त्री डा। खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रसेवक कर्मचारीको महँगीभत्ता, पोशाक सुविधा र सावधिक जीवन बीमालाई यथावत राखेको छु, यसबाट कर्मचारीको मनोबल उच्च हुन गई पेशागत निष्ठा बलियो भई सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरेको छु ।’’ यस व्यवस्थाबाट कर्मचारीले पाउँदै आएको मासिक दुई हजार महँगी भत्ता कायम रहेको छ । नयाँ तलबमान अनुसार खरिदारको आधार तलबमा चार हजार ४३४ देखि मुख्य सचिवको तलबमा ९ हजार ९३६ रुपियाँसम्म बढेको छ । सङ्घीय सरकारका मुख्य सचिवले ६५ हजार १३६ रुपियाँ पाउने छन् ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका महासचिव रेमन्त गौतमले बजेटले कर्मचारीलाई उत्साहित बनाएको र यसलाई निजामतीले सकारात्मकरुपमा लिएको बताउनुभयो । बजेटमा कर्मचारीका शिशु स्याहारका लागि सातवटै प्रदेशमा शिशु स्याहार केन्द्र निर्माण गर्ने बजेटको व्यवस्था पनि राम्रो भएको उहाँले बताउनुभयो । हाल सिंहदरबारमा मात्रै शिशु स्याहार केन्द्र स्थापना भएको छ । स्वयम् सेविकाहरूलाई यातायात खर्च भनेर तीन हजार रुपियाँ प्रदान गर्ने बजेटले व्यवस्था गरेको छ ।

महासचिव गौतमले बजेटले समायोजनमा जाने कर्मचारीलाई उत्साहित बनाएको छ भन्नुभयो । उहाँले पोशाकको भत्ता वृद्धि गर्नुपर्ने र नेपाली उद्योगबाट बनेका कपडा प्रयोग गर्नुपर्छ भन्ने सुझाव माग भने कार्यान्वयन नभएको बताउनुभयो । सिहंदरबारमा मात्रै रहेको हेलो सरकारलाई प्रदेश र स्थानीय तहसम्म पु¥याइने बजेटमा उल्लेख भएकाले सुशासन कायम भई आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास पनि कर्मचारीहरूको छ ।

प्रशासन सेवातर्फका लागि नियुक्त हुने कर्मचारीले सुरुमै छ महिने सेवाकालीन तालिम प्रदान गरिँदै आएकोमा बजेटमा प्राविधिक कर्मचारीलाई इन्जिनियरिङ कलेज स्थापना गरी तालिम प्रदान गरिने उल्लेख छ ।

यसैगरी, नेपाल निजामती कर्मचारी सङ्गठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेले निजामती सेवालाई व्यवस्थित बनाउन सहयोग पुग्ने र तलबवृद्धि सकारात्मक भएको बताउनुभयो । उहाँले तलब वृद्धि गरेकामा सरकारलाई धन्यवाद दिँदै महँगी वृद्धि अनुसार कर्मचारीको जीवीकोपार्जनका लागि भने तलब वृद्धि अपुग भएको टिप्पणी गर्नुभयो ।

यस्तै, निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारीलाई दुई समूहमा राखेर तलब वृद्धि भएकोले सकारात्मक छ भन्नुभयो । उहाँले अब महँगी नियन्त्रण गर्न सरकार सक्षम भएमा मात्रै तलब वृद्धि भएको सार्थक हुने बताउनुभयो ।यो समाचार आजको गोरखापत्रमा छ ।