बुबाको निधन पछि आमाले चिया बेचेर पढाएको छोरा यसरी बन्यो ढोंगी ज्योतिष , यस्तो छ वास्तविकता

काठमाडौँ,जेठ २२ । आफूलाई युवा ज्योतिष भनेर चिनाएका २६ वर्षीय अर्जुन क्षेत्री हिजो प्रहरीको फन्दामा परेका छन् । यो सँगै क्षेत्रीको थप वास्तािकता पनि बाहिर आउने क्रम जारी छ । हाल सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. नामको कार्यालय सञ्चालन गर्दै आएका क्षेत्रीले हालसालै विभिन्न यूट्यूव च्यानलमा अन्तर्वार्ता दिँदै जेठ १७ गतेदेखि २८ गतेसम्म ठूलो भुकम्प जान्छ भनेर आतंक फैलाएपछि प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो।उनले जेठमा भूकम्प नगएपनि जेठदेखि असोजसम्म ७ रेक्टरको भूकम्प आउने ठोकुवा गरेका थिए ।

 

विभिन्न समयमा धेरै विवादित भविष्यवाणी गरेर विवादमा फस्ने गरेका क्षेत्री आफूलाई फेस रिडर र ज्योतिष भन्ने गरेका छन्। तर वास्तविकतामा भने उनी फेस रिडर र ज्योतिष दुवै नभएको खुल्न आएको छ।

यस्तो छ उनको वास्तविकता

मिडियामा आफूलाई ज्योतिष बताएर भाइरल हुँदै आएका क्षेत्रीका आफन्त र नजिकका चिन्ने जान्नेहरुको उनको बिषयमा फरक धारणा राख्छन्। उनले विभिन्न अन्तर्वार्तामा आफू २६ वर्षको भन्ने गरेको भएता पनि उनको वास्तविक जन्मवर्ष भने २०५६ रहेको छ।

 

उनको वास्तविक नाम अर्जुन थापा हो भने उनको स्थायी घर भोजपुर हो। उनका आफन्तहरुका अनुसार अर्जुनका पीता सेनामा थिए, जसको जागिरकै क्रममा निधन भईसकेको छ।

 

पिताको निधन पछि आमाले चिया दोकान गरेर उनलाई हुर्काउने र पढाउने काम गरेकी थिइन्। मावलीमा बसेर पढेका उनले २०७२ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित श्री माध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।

 

उनले रामेछापकै एक स्थानीय रेडियोमा समेत काम गरेका थिए। त्यति मात्र नभई उनले सिन्धुलीको एक बोर्डिङ स्कुलमा पढाउने काम गरेको पनि खुल्न आएको छ। पढाउने क्रममा विवाद भएपछि काठमाडौँ छिरेको र हाल आएर ज्योतिष बनेको उनका आफन्तहरु बताउँछन्।