नक्कली नोटको विगविगी, दुई पक्राउ

रौतहट, जेठ २५ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया नगरपालिका ७ का ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका ७ का ४० वर्षका बिहारी साह छन् ।

 

शंका लागी चेकजाँच गर्दा प्रहरीले उनीहरुबाट हजार रुपैयाँ दरका २ सयवटा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । महतो र साहले नक्कली नोट बारा आदर्श कोतवाल गाउँपालिका ६ का २५ वर्षीय आनन्द कुशवाह र सिम्रौनगढ नगरपालिकाका ३५ वर्षीय मनोज साह तेलीको भएको र आफूहरुलाई बोक्न लगाइएको बयान दिएको प्रहरीले जनाएको छ ।

 

रौतहटका प्रहरी डिएसपी नवीन कार्कीले बाराका आरोपित दुवैको खोजी अनुसन्धान भइरहेको बताए । बजारमा नक्कली नोट अझै भेटिन सक्ने भएकाले सचेत भएर रकम कारोबार गर्न प्रहरीले अनुरोध गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।