असार १ देखि रात्री बस चलाउने निर्णय उल्टियो

काठमाडौं, जेठ ३१ । सरकार आगामी १ असारबाट काठमाडौंमा रात्रिबस चलाउने निर्णयबाट पछि हटेको छ ।

रात्री बस सञ्चालनका लागि भाडादर तोक्नुका साथै रुट समेत किटान गरिसकेको थियो । तर यातायात व्यवस्था विभागले एकाएक रात्री बस चलाउने निर्णय स्थगित गरेको छ ।

 

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी गराएको छ । विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइसकेको थियो ।

 

बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो । तर साँझ विभागले भाडावृद्धिसहित रात्री बसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ ।

 

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाइदैन । यस्तो अवस्थामा ट्याक्सीमात्रै विकल्प बन्ने गरेकाले व्यवसायीहरु साबिकको भन्दा बढी भाडा लिएर राति १२ बजेसम्म गाडी चलाउन सहमत भएका थिए ।

 

यसअघि रात्री बस सेवा पनि सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा २०६९ को भदौमा रात्रीकालीन बस सेवा प्रारम्भ भएको थियो ।

 

सरकारले गाडी भाडा बढाउने र रात्री बस चलाउने निर्णयसँगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको छ ।

 

व्यवसायीहरुले यो निर्णयका कारण व्यापार, उद्योग र कलकारखाना चलाउन नसकिने अवस्था आउने भन्दै विरोध गरेका थिए । यातायात व्यवस्था विभागले बिहीबार सााझ एक विज्ञप्ति निकालेर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाउने गरी घोषित नियम तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ । राजधानी दैनिकमा खबर छ।