ल्याए सातै प्रदेशले बजेट,कुन प्रदेशकाे कति छ बजेट

काठमाडौं,असार २ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि कुल दुई खर्ब ५९ अर्ब ५९ करोड ८६ लाखको बजेट ल्याएको छ । देश संघीयतामा गएपछि प्रदेश सरकारले ल्याएको यो दोस्रो बजेट हो ।

 

असार १ गते सातै प्रदेशले प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, लगायतका कार्यक्रमले प्राथमिकता पाएका छन् ।आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको बजेटमा सबैभन्दा धेरै बजेट प्रदेश ३ को रहेको छ भने सबैभन्दा थोरै बजेट सुदूरपश्चिम प्रदेशको रहेको छ । प्रदेश ३ ले कुल ४७ अर्ब ६० करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ भने सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख बजेट प्रस्तुत गरेको छ ।

प्रदेश ३ को प्राथमिकतामा सुरुङमार्गदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आज आइतबार कुल ४७ अर्ब ६० करोड ८७ लाखको बजेट प्रस्तुत गरेको छन् । बजेटको सुरङमार्ग, १३ जिल्लालाई जोड्ने बाहिरी चक्रपथ, विश्व विद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्राथमिकतामा परेका छन् ।बजेटले ‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने अभियानलाई आगामी आर्थिक वर्षमा अघि बढाउने भएको छ ।
‘निरक्षरता मुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’ मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स, एक स्थानीय तहः एक विशेष उत्पादन, प्रदेश भ्रमण दशक, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम जस्ता कार्यक्रम बजेटको प्राथमिकतामा रहेका छन् ।

कर्णाली प्रदेश ३४ अर्ब ३५ करोड ३४ लाख

कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार ३४ अर्ब ३५ करोड, ३४ लाखको बजेट प्रस्तुत गरेका छन् । प्रदेशसभा बैठकमा ज्वालाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट पेश गरेका हुन् ।
चालू खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजस्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य कर्णाली प्रदेशले लिएको छ ।

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड ४ लाख

प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।

 

प्रदेश ५ को ३६ अर्ब ४१ करोड ३८ लाख, बजेटको प्राथमिकतामा शिक्षा, स्वास्थ्यदेखि पूर्वाधारसम्म

प्रदेश ५ ले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन् । बजेटले कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

 

प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ । सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ ।

सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर वोहरा आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।

प्रदेश २ को ३८ अर्ब ७२ करोड ५६ लाख बजेट, बेटी बचाऊ देखि नमुना अस्पताल अभियानसम्म

प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ३८ अर्ब ७२ करोड ५६ लाख बजेट प्रस्तुत गरेका हुन् । प्रदेश २ ले सबैभन्दा बढी २९ करोड रुपैयाँ रकम ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि विनियोजन गरेको छ । सँगै प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ। सँगै मुख्यमन्त्री कृषि उत्थानका लागि २० करोड रकम विनियोजन भएको छ ।
सरकारले प्रत्येक जिल्लामा नमुना अस्पताल निर्माणका लागि ३० करोड रकम छुट्याएको छ । प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि तीन करोड रकम विनियोजन गरेको छ ।

गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोड ४७ लाख बजेट, सांसदलाई पनि बजेट

गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचन सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

यस्तो छ सात प्रदेशको बजेटस्

प्रदेश १ ४२ अर्ब २० करोड ४ लाख

प्रदेश २ ३८ अर्ब ७२ करोड ५६ लाख

प्रदेश ३ ४७ अर्ब ६० करोड ८७ लाख

गण्डकी प्रदेश ३२ अर्ब १३ करोड ४७ लाख

प्रदेश ५ ३६ अर्ब ४१ करोड ३८ लाख

कर्णाली प्रदेश ३४ अर्ब ३५ करोड ३४ लाख

सुदूरपश्चिम प्रदेश २८ अर्ब १६ करोड २० लाख

(B.N)