सिकारुले चलाउँदा कर्णालीमा जिप खस्यो उपाध्यक्षसहित १० जना बेपत्ता

हुुम्ला,  असार ४। सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा स्थानीय स्तरमा सञ्चालित लु। १ ज ७१६६ नम्बरको महेन्द्र बोलेरो जिप सडकबाट कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् ।

गाउँपालिकाको खार्पुबाट याङ्चुमा यात्रु ओसार्ने क्रममा जिप कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खस्दा यात्रु बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले चालकले नचलाई सिकारुले जिप चलाउँदा दुर्घटना भएको स्थानीयले बताएको जानकारी दिनुभयो । बेपत्ता भएको जिपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही अन्य यात्रुसँगै हुनुहुन्छ ।

बेपत्ता हुने अन्य यात्रुमा चालक सिमकोट–८ का मणि शाही, खार्पुनाथ ४ निवासी चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, खार्पुनाथ–१ का कौर दमाई, नाम नखुलेको उहाँको दुई वर्षे छोरा र काठमाडाँै थानकोट निवासी राजु श्रेष्ठ रहेको घटनास्थलमा रहनुभएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार जिप नदीमा बेपत्ता भएको छ ।

घटना भएको खबर पाएलगत्तै सिमकोटबाट हेलिकोप्टरबाट नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पुगेको भए पनि घटनास्थल निकै गहिरो भएका कारण उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । कर्णाली नदीको किनारमा दुर्घटनाग्रस्त जिप मङ्गलबार अबेरसम्म खोजी गरे पनि फेला पर्न नसकेको जनाइएको छ । याे समाचार आजको गोरखापत्रमा छ ।