क्रान्तिकारी पत्रकारको आन्दोलन पछि नेपाल पत्रकार महासंघ पछि हट्यो,अनिवार्य चन्दा स्वच्छिक गरियो

शोभा जिसी

नवलपरासी,असार ४ ।क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले थालेको आन्दोलन पनि नेपाल पत्रकार महासंघ नवलपुर आफ्नो निर्णयबाट पछाडि हटेको छ ।

 

नेपाल पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यताका लागि २ हजार शुल्क र भवन निर्माणका लागि २ हजार सहयोग अनिवार्य गरेकोमा अहिले त्यो निर्णय फेरेर सदस्यताका लागि केन्द्रको नियमानुसार ३ हजार र भवन निर्माणका लागि स्वच्छिक सहयोग गर्न पाउने निर्णय भएको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव प्रेम रिमालले बताए ।

 

क्रान्तिकारी पत्रकार महासंघ आन्दोलित भएर नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा ताला लगाएपछि त्यसलाई प्रहरी हस्तक्षेप गरेर खोलेको भन्दै प्रेस चौतारी, प्रेस सेन्टर, डब्लुडब्लुजे नवलपरासी, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्च पनि क्रान्तिकारी पत्रकार महासंघसँगै आन्दोलित भएको थियो ।

 

त्यसैगरी नयाँ सदस्यता खुलाएको विषयमा पारदर्शी सूचना जारी नगरेको भन्दै समय थप गर्न माग गरेपछि असार मसान्तसम्मका लागि नयाँ सदस्यताका लागि आवेदन दिन पाउने गरी समय थप भएको छ ।

 

नवलपुरका पेशागत पत्रकारसंगठनहरुले संयुक्त रुपमा आर्थिक पारदर्शीता लगायतका विषयहरु समेत समेटेर संयुक्त ज्ञापन पत्र बुझाए पनि सदस्यता शुल्क, नयाँ सदस्यताको लागि आवेदन दिन पाउने समय थप बाहेक अन्य विषयमा नेपाल पत्रकार महासंघ नवलपुर नबोलेको भन्दै अन्य मागलाई पनि सम्बोद्धन गर्नु पर्ने क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले बताए ।

 

त्यस्तै प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलले आफूहरुको माग खासै सुनुवाई नभएकोर आफूहरुले दिएको सात दिने अल्टिमेटम भित्र पनि माग पुरा नभए संघर्षमा उत्रिने बताए ।