लोकसेवा आवेदन २ लाख ३५ हजार पुगे, साढे ५ करोड राजस्व संकलन

काठमाडौं, असार ७ । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा २ लाख ३५ हजारभन्दा बढीको आवेदन परेको छ ।

 

आयोगका अनुसार शुक्रबार सा“झ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ । जसअन्र्तगत खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता गराएको लोकसेवा आयोगले जनाएको छ ।

 

आवेदनबापत साढे ५ करोड राजस्व संकलन भएको छ । आयोगका अनुसार ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

 

प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ । आवेदकले भने अझै समस्या रहेको बताउँदै आएका छन् ।

 

आवेदकहरूले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गरिरहेका छन् । आयोगले आवेदन दिन चाहनेको संख्या अत्यधिक रहेको बताएको छ । प्राविधिक समस्या समाधानको प्रयास जारी रहेको र सर्भर परिवर्तन गरिएको आयोगको भनाइ छ । आयोगले गत १५ जेठमा ५१५ स्थानीय तहमा ९ हजार १६१ जनाका लागि भर्ना आह्वान गरेको थियो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले आयोगले विज्ञापनका क्रममा समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । तर, आयोगले आवेदन रोकेको छैन ।

 

यससम्बन्धीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सर्वोच्चको फैसला नै अन्तिम हुने आयोगको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।