राजस्व अनुसन्धान विभाग मातहतका १० चेकपोष्ट हट्ने , विभाग साउन देखि सूचना प्रणालीमा

काठमाडौं,असार ८ । राजस्व अनुसन्धान विभाग मातहतका १० चेकपोष्ट हट्ने भएका छन् ।इटहरी, चारआली, बर्दिबास, पतलैया, बर्दघाट, बुटवल, चन्द्रौटा, कोहोलपुर, अतरिया र चिडिया खोला गरी १० स्थानमा रहेका चेकपोष्टहरु हट्ने भएका हुन । डिजिटल प्रणालीबाट मालवस्तु ढुवानीको कागजपत्र प्रविष्टी गर्ने व्यवस्थासँगै

आगामी आवको साउनदेखि विभागले नयाँ सफ्टवेयर मार्फत मालसामान ओसार पसार गर्ने ढुवानीको विवरण वेभमा आधारित केन्द्रीय सूचनामा प्रविष्टी हुने भएपछि चेकपोष्ट हट्ने भएका हुन । हाल उक्त प्रणालीको परीक्षण भइरहेको छ । साउनदेखि व्यवसायी र व्यापारीले उक्त सूचना प्रणालीको सेवा सहजै लिन पाउने छन् ।

‘अब चेकपोष्टले गर्दै आएको काम मालसामानको विवरण बुझ्ने काम नयाँ सफ्टवेयरको माध्यमबाट व्यवसायी आफैले आफ्नै कोठाबाट इन्ट्री गर्न सक्छन् । चेकपोष्ट हटाउने तयारी गरेका हौं,’ विभाग स्रोतले भनेको छ ‘मालवस्तुको विवरण विभागको वेभसाइटमा रहेको सफ्टवेयर प्रणालीमा अमेरिकामा बसेर पनि गर्न सकिन्छ ।’

 

यसले व्यवसायी तथा व्यापारीलाई चेकपोष्टनै पिच्छे गाडी रोक्ने झण्झट नहुनुका साथै व्यापारमा सहजीकरण हुने विश्वास विभागको छ । यो सिष्टममा गाडी नंम्बर र ड्राइभरको नाम एक पटक इन्ट्री गरिसकेपछि पटक पटक इन्ट्री गर्नु पर्दैन । केन्द्रीय सूचना प्रणालीको अधिन र निगरानीमा यो सिष्टम रह्ने छ ।

 

सामानधनीले घर वा कार्यालयमा बसेर आफ्नो मालवस्तुको वारेमा जानकारी राख्न सक्नेछ । प्रणाली प्रयोगकर्ताले आफ्नो अभिलेख जहाँसुकै बसेर हेर्न सूचना प्रयोग गर्न मिल्छ । विभागले एक वर्षको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको बिगो र जरिवाना सहितको मुद्दा देशका विभिन्न जिल्ला अदालतमा दर्ता गराएको छ ।