पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटमा परेकाका परिवारलाइ सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

सिड्नी,असार १६ । पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गर्नुभएको छ ।

 

माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताउनु भएको छ ।

 

वेस्ट न्यु ब्रिटेन प्रान्तको माउन्ट उलावुनमा गत बुधबार ज्वालामुखी विस्फोट भएपछि त्यस आसपासका १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई प्रभावित क्षेत्रबाट २० किलोमिटर टाढा सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

 

माउन्ट उलावुन विस्फोटको ४८ घण्टा भन्दा कम समयमा नै मदाङ प्रान्तमा रहेको मनाम द्वीपमा पनि ज्वालामुखी विस्फोट भएको थियो ।

पपुवा न्यु गिनी रेडक्रस सोसाइटीले ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको र उनीहरुलाई वासस्थान र अन्य मानवीय सहायता आवश्य परेको जनाएको छ । रासस÷सिन्ह्वा