विवादमा पाटनको पोखरीः हतारमा खन्ने कि तयारीका साथ खन्ने

ललितपुर, साउन ८। ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।

 

पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।

 

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।

 

मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि।सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्याससमेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

 

सोही स्थानमा पोखरी नै बनाउनुपर्ने स्थानीयहरुको मागका कारण उक्त सभाहल बनाउने कार्यले सार्थकता पाउन सकेन । तत्कालीन मेयर बुद्धिराज बज्राचार्यले जोखिम मोल्न चाहनुभएन । फलस्वरुप त्यो स्थान फोहोर फाल्ने स्थानको रुपमा परिणत हुँदैगयो । फोहोर र दुर्गन्धले स्थानीयहरु आजित भए । त्यसपछि यस्तो कार्यले शहर दुर्गन्धित र कुरुप बनाउने निष्कर्षसहित तत्कालीन उपमहानगरले उक्त स्थानको संरक्षण गर्ने र सो स्थानमा पार्किङ्ग सञ्चालन गर्ने निर्णय लियो ।सो वेलामा २० हजार रुपियाँ मासिक उपमहानगरपालिकालाई बुझाउने गरी टेण्डरमा लगाइएको थियो । त्यसवेला नःटोलका स्थानीयहरुले नै टेण्डर पाएका थिए । सो टेण्डरको म्याद सकिएपछि उपमहानगरपालिका रहँदैको समयमा पुनः टेण्डर गरियो । तत्कालीन ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणि पाण्डेको कार्यकालमा टेण्डर खोलिएको थियो ।

 

दुई पक्षबीच तनाब बढाउने काममा नगर प्रहरी प्रमुख कदमलाल महर्जनको हात रहेको महानगरपालिकाको आरोप छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नःटोलका स्थानीयबासी महर्जन उपमहानगरको प्रहरी प्रमुख भएपछि स्थानीयहरुलाई हातमा लिएर त्यस बेलाको टेण्डरमा सहभागी भएको आरोप लगाउनुभयो ।

 

उहाँले भन्नुभयो–आगामी वर्ष नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी सो स्थानमा पर्यटक बसपार्क बनाउने र भविष्यमा महानगरले सो स्थानमा पोखरी नै बनाउने निर्णय गरिसकेको छ । उहाले टेण्डर पाइसकेपछि आन्दोलन गर्नुको कुनै औचित्य नभएको धारणा राख्दै अब टेण्डरको सम्झौता सकिएपछि पुनः पोखरी निर्माण प्रक्रियामा जाने बताउनुभयो ।

 

पोखरी बनाउन डिपिआर तयार गर्नुपर्छ, वातावरणीय परीक्षण गर्नुपर्छ, त्यसको लागि विस्तृत योजना बनाएर काम गर्न केही समय कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर प्रक्रिया पूरा भैसकेको अवस्थामा स्थानीयको नाममा नगरप्रहरीकै संलगनतामा आन्दोलन गर्नु उचित नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–पोखरीको विषयमा त चर्चा चल्यो तर सो स्थानमा समितिले कब्जा जमाएर भोज खाने भवन निर्माण गर्नु गलत छ ।

 

उहाँले अब पोखरीनै निर्माण गर्ने हो भएपछि सो क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको भवनलगायत संरचना भत्काउनुपर्छ । उहाँले कदमलाल उहाका परिवारका सदस्यले टेण्डर पारेर पटक पटक पार्किङ स्थल सञ्चालन गर्दा त्यतिबेला नै पोखरी बनाउनुपर्ने कुरा उठाएको भए हालसम्म पोखरीको केही संरचना निर्माण भैसक्ने उहाँको भनाइ थियो ।

 

स्थानीय निकायको कर्मचारी नभएको अवस्थामा नगर प्रहरी प्रमुखसमेत रहेका महर्जनले तत्कालीन कार्यकारी प्रमुखलाई दवाव र प्रभावमा पारेर टेण्डरमा सहभागिता जनाउन सफल भएको आरोप महानगरको छ । पछिल्लो समयसम्म पार्किङ सञ्चालन गरेको नः टोल पलेस्वा पुखु संरक्षण समितिले मासिक ४० हजार रुपियाँमा ३ वर्षसम्म पार्किङ्ग सञ्चालन गरेको थियो ।यो समाचार नेपाल समाचारपत्रमा छ।