उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

काठमाडौं,साउन १५। सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ ।

 

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्वएमाले र माओवादीेका प्राध्यापकलाई नियुक्ति गर्ने आन्तरिक तयारी गर्नुभएको छ । अबको २० दिनपछि अर्थात भदौ ५ गतेदेखि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रिक्त हुंदै छ ।

 

विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएपछि कुलपति छनोट हुने तयारी भइरहेको छ । अध्यक्ष दाहाल हिजो मंगलबार संयुक्त अबर इमिरेट्स प्रस्थान गर्नुभएको छ । प्रम ओली प्रचण्ड फर्किएलगत्तै आगामी साता उपचार गर्न सिंगापुर जाने कार्यक्रम रहेको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्केलगत्तै नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया शुरु हुनेछ ।

 

दुवै अध्यक्षले आफ्ना पार्टी निकट प्राध्यापक संगठनको सल्लाहअनुसार उपकुलपति नियुक्ति गर्ने तयारी गरेका छन् । पार्टी एकीकरण भएपछि दुवै पार्टीका प्राध्यापक संगठन छुट्टाछुट्टै क्रियाशील छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफू निकट प्राध्यापकको नाम संकलन गर्न थालेका छन् । दुवै संगठनले छनोट गरेको नाम गोप्य राखिएको छ । यो खबर नेपाल समाचारपत्रमा छ ।