मादक पदार्थ सेवन(मापसे)गर्ने ४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौँ,साउन १५। यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन(मापसे)गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स)निलम्बन गरेको छ ।

 

उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।

 

वि.सं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो ।

 

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।

 

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताए । ‘पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ’, उनले भने । महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५÷०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए ।

 

महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो।