अहिलेको सरकार पूर्ण रुपमा असफल,नेपालका मिडिया साम्राज्यवादी र विस्तारवादीको दलाल बनेः महासचिव किरण

काठमाडौ,साउन २५। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेपालका ठूला मिडियाहरुमा साम्राज्यवादी र विस्तारवादीको दलाली गर्ने प्रविधि बढेर गएको बताए ।

 

शनिबार क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय समितिको वैठकलाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव किरणले सरकारले नेपाली मिडियालाई कन्ट्रोल गर्न नसकेको बताए । उनले भने – मिडिया काउन्सिल विधेयक ल्याउनु ठिक हो । राज्य विरुद्ध सञ्चालित मिडियाहरुलाई कन्ट्रोल गर्नु पर्दछ तर यो काउन्सिल विधेयक गलत ढंगले आयो, राम्रो गर्नेलाई कारवाही गर्ने ढंगले यो विधयक ल्याइयो ।

 

उनले सरकारको गलत काम कारवाहीको विरोध गर्ने मिडियाको दायित्व भए पनि सरकारको मात्र विरोध नगरी राष्ट्रियको सवालमा मिडियाले भूमिका खेल्न नसकेको बताए ।

 

महासचिव किरणले अहिलेको सरकार पूर्ण रुपमा असफल भएको बताउँदै प्रधानमन्त्री र सरकारका प्रवक्ता वाहेक सरकारमै रहेका मन्त्रीहरुले पनि सरकारको खुलेर प्रशंशा गर्न नसक्नुले पनि यसको पुष्टि गरेको बताए ।

 

उनले देश गम्भीर परिस्थितिमा रहेको बताउँदै यो सरकार असफल हुँदा सबै कम्युष्टि पार्टी एउटै हुन भनेर गरिने प्रचारबाजी भने गलत भएको बताए ।

 

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय कमिटिको वैठकले मिडिया काउन्सिल विधेयक विरुद्ध प्रदेश प्रदेशबाट आन्दोलन उठाउने निर्णय गरेको छ ।

 

त्यसैगरी नेपाल पत्रकार महासंघमा सरकारी कर्मचारी, जनप्रतिनिधि पनि सदस्य रहेकोले सदस्यता शुद्धिकरणका लागि पहल गर्ने, पत्रपत्रिका वर्गीकरणमा पहुँचको आधारमा विवेध भएको ठहर गर्दै त्यस्तो नगर्न र पत्रिका वर्गीकरणमै परेको बर्षदेखि सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्ने निर्णय समेत गरेको छ ।

 

वैठकले जनपक्षीय पत्रकारिता नामक स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको सचिव रनसुर महतराले बताए ।

महासचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको वैठक अध्यक्ष इन्द्र राउतको अध्यक्षतामा भएको थियो ।

 

वैठकमा नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य रामसिंह श्रीस, क्रान्तिकारी पत्रकार महासंघका सल्लाहाकार हिरामणि दुखीले प्रशिक्षण प्रदान गरेका थिए ।