नारायणगढमा कपडा बैंक सञ्चालन


  
शोभा जिसी
चितवन,साउन २९। चितवनको नारायणगढमा कपडा बैंक सञ्चालनमा आएको छ । प्लस बैंक (कपडा बैंक) नयाँ कपडा लगाउन नसक्नेहरुका लागि सहयोग गर्न सञ्चालनमा ल्याइएको हो ।

‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत पुग्ने छ ।’ जिल्ला समन्वय समिति चितवनका सदस्य रमेश खनाल भने, ‘हामीले कपडा सहयोग गर्नेलाई पनि पैसा दिदैनौं, कपडा लैजानेसँग पनि पैसा लिदैनौं । आफ्नो घरमा रहेका लगाउने मिल्ने तर घर काम नलागेर बसेको कपडाहरु जम्मा गरेर अनाथ, असाहाय, अपाङ्गता, गरिब, विपन्नलाई सहयोग गर्ने छौं । ’

आर्टस लिभिङ्ग चितवनले नारायणगढको मेन रोडमा उक्त कपडा बैंक मंगलबारबाट सञ्चालनमा ल्याएको संयोजक सुनिता पियाले बताइन ।

कपडा पसल विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा आउने छ । रमेश खनालले सबैलाई यस कार्यको लागि सहयोग गर्न आग्रह समेत गरे ।

पुन प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज हुने सञ्चालकहरुले विश्वास लिएका छन् ।
पछिल्लो समय नेपालका मुख्य मुख्य सहरहरुमा कपडा बैंक खुल्ने क्रम एक्कासी बढेको छ ।

‘कपडा बैंक गरिबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन,’ खनालले भने, ‘आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने मात्रै हो ।’

उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जविनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए ।

बाढी, पहिरो, आगलागी पीडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग हुने विश्वास लिइएको छ ।