अपराधीको पक्षमा काम गर्दा : गृहमन्त्री पुत्रलाई २ करोड २५ लाखको गाडी उपहार

काठमाडौं । प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’। यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ?हो, अहिले गृहमन्त्रीका पुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड लिएका छन् ।

 

यही गाडी भरतपुरकी मेयर रेणु दाहाल र कांग्रेसका पूर्वसांसद तीर्थ लामासहितले चढेका छन् । पाँच महिनाअघि उनले टोयोटा कम्प्नीमा गाडी बुक गराएका थिए । यो गाडीको खरिदमा हालै नुवाकोटबाट तानिएका एसपी कृष्ण पल्लीमगरसँगको योगदान पुष्टि हुने गरी कनेक्स्न पनि फेला परेको छ । उनैले, २४ गते डल्लुको बिजेश्वरी हाउजिङमा फिरौती असुल्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका लोप्सन र मिलन भनिने बाबुराम तामाङको चिन्ता लिँदै प्रहरी अधिकारीदेखि वीर अस्पतालका चिकित्सकसम्मलाई अनेकन दबाब दिइरहेको । उनीसँग उपराष्ट्रपति पुत्र दिपेशको पनि सक्रियता भेटिएको छ । प्रहरी अहिले पक्राउ परेका आरोपितसँग यी दुई भाइको कनेक्सन खोज्न व्यस्त छ ।

 

रोमेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कासँग फिरौति माग्ने क्रममा घुँडामा गोली हानी प्रहरीले लोप्सनलाई पक्राउ गरेको थियो भने उनको पक्राउलगत्तै अर्का गुण्डा अमृत तामाङ पनि नियन्त्रणमा लिइएका थिए । यी दुबै हाल जेलमा रहेका ‘बाहुन डन’ को नामले चिनिने सुजन पौडेल समूहको भएको बताइन्छ । तिनैसँग गृहमन्त्रीका छोरा र उनको टिमका केही सहयोगीको पनि सम्पर्क भेटिएको हो । प्रहरीले नियन्त्रणमा लिएका लोप्सन र अमृत पहिला वाइसियलमा संगठित थिए ।

 

संगठनको नाममा अनुचित काम गरेर कारवाहीमा परेपछि एक वर्ष विप्लव समूहमा आबद्ध भए । तर, त्यताबाट पनि फिरौती असुल्न थालेपछि निकालिए । पहिल्यैदेखि ‘बाहुन डन’ को गिरोहमा रहेका उनीहरु बाहुनकै निर्देशनअनुसार गाउँपालिका अध्यक्षसँग फिरौती असुल्न सक्रिया भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

योसँगै अर्को काण्ड छ– नुवाकोटबाट एसपी कृष्ण पल्लीमगर तानिएकोबारे । पल्लीमगर केही क्रसर व्यवसायीको योजनाअनुसार दिपेशको दबाबमा नुवाकोट खटिएका थिए । नदी उत्खनन्का कारण जमिन विनाश भएको भनी स्थानीय तहले आपत्ती जनाउँदै आए । त्यसमाथि सिडिओ द्रोण पोखरेलले पटकपटक त्यस्तो कामलाई प्रोत्साहित नगर्न चेतावनी दिइरहे । तर, डन, ड्राइभर र द्रव्यपचासहरुसँग मिलेका एसपीचाहिँ जहिल्यै अटेर गर्थे । यसपछि सिडिओले गृहसचिवमार्फत् मन्त्रीसँग पनि कुरा गरे ।

 

मन्त्रीले आफ्नो नाम लिँदै अनियमितता गर्ने अधिकार कसैलाई नभएको बताए । गृहसचिवले आइजिपीलाई पल्लीमगरलाई तुरुन्त काज सरुवा गर्न निर्देशन दिए । उनको ठाउँमा गृहमन्त्रालयमै कार्यरत एसपी अभिनारायण काफ्ले हाजिर भएका छन् । यो घटनासँगै अहिले एसपी पल्लीमगरमाथि छानवीन शुरु गरेको छ । नुवाकोट मामिलाको छानवीन गर्दा उनलाई त्यहाँ पठाउन लमिङ गर्ने व्यापारी, दिपेशहरुको कनेक्स्न पनि फेला परेको छ । पल्लीमगरमाथि अख्तियारमा पनि उजुरी परेको बताइन्छ ।

 

२४ गतेको गोलीकाण्डमा गाउँपालिका अध्यक्ष गोविन्द खड्काले लिखु गाउँपालिकाकै ७ नम्बर, तिल्पुङका वाडध्यक्ष सुभाष बोहराको योजना भनी आरोप लगाए पनि प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको आरोप पुष्टि नभएको बुझिएको छ । अनुसन्धानअनुसार, रामेछापको लिखु गाउँपालिका–१, दरागाउँमा केन्द्रीय प्रशारणको बिजुली पुर्याउने क्रममा आफैँ ठेकेदार बनेर काम गरेका थिए । चारवटा उपभोक्ता समिति खडा गरेर १३ करोडको काम गरे, त्यसबाट पाँच करोड कमिशन लिए । त्यहीँ गाउँका रमेश बाहुनले यो कुरा चाल पाएपछि फिरौति धन्दा शुरु भएको छ । यो समाचार आजको जनआस्था साप्ताहिकबाट लिइएको हो ।