शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित दुई जनालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं,साउन ३१। जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टिभीका प्रस्तोता रवि लामिछाने सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

 

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो।

 

प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत र्पुयाएको थियो। उनीसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो। चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

 

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।