पार्टी स्कुलिङको अभावले माओवादी आन्दोलन विसर्जन


–हस्तबहादुर केसी

“एक चोटी राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।”

माओ त्सेतुङ “राष्ट्रिय युद्धमा चिनीयाँ कम्युनिष्ट पार्टीको भूमिका” (अक्टुवर १९३८)

कमरेड माओले माथि भन्नु भएका कुराहरु अत्यन्तै वस्तुवादी र वैज्ञानिक छन् । कार्यकर्र्ता नीति सम्बन्धी माओका भनाइहरु ठिक छन् र हाम्रो सन्दर्भमा पनि यिनै कुराहरु लागु हुन्छन् । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले राजनीतिक दिशा निश्चित गरिसकेको छ । महान नेपाली नयाँ जनवादी क्रान्तिको वर्तमान कार्यदिशा सशस्त्र जनविद्रोहको कार्यदिशा हो र पार्टीको सामरिक कार्यदिशा पनि हो । यस प्रकारको कार्यदिशा कार्यान्वयन गर्नका निम्ति हजारौको, लाखौंको संख्यामा अब्बल दर्जाका माक्र्सवाद–लेनिनवाद– माओवादको वैचारिक सिद्धान्तले लैस भएका कार्यकर्ताहरुको आवश्यकता पर्दछ ।

अहिले हाम्रो पार्टीको वरिपरि हजारौको संख्यामा नयाँ नयाँ कार्यकर्ताहरु गोलबन्द भइरहेका छन् । यिनै कार्यकर्ताहरुलाई हाम्रो पार्टीले पार्टी स्कुलिङ्गको माध्यमबाट मालेमावादका विषयमा प्रशिक्षित तुल्याउन अति जरुरी छ ।

स्कुलिङ्ग विना कार्यकर्ताहरुमा विश्वदृष्टिकोण पैदा हुदैन । “दृष्टिकोणविनाको मानिस जरा विनाको रुख सरह” हुन्छ । त्यसैले मानिसमा विश्वदृष्टिकोण हुनु आवश्यक हुन्छ ।

विश्वदृष्टिकोण भनेको के हो ? यस विषय मा पनि छलफल गर्न आवश्यक हुन्छ ।
विश्वदृष्टिकोण भनेको के हो ? भन्ने वारेमा हामीले बारम्बार अध्ययन गर्नु पर्दछ । विश्वदृष्टिकोण भनेको विश्वलाई हेर्ने बुझ्ने, व्याख्या गर्ने र त्यसलाई बदल्ने वैज्ञानिक नियमहरुको वारेमा ज्ञान हासिल गर्ने भन्ने हो ।

विश्वलाई हेर्ने दृष्टिकोण पनि दुई प्रकारका छन् । आदर्शवादी विश्वदृष्टिकोण र भौतिकवादी दृष्टिकोण । आदर्शवादले चेतनाको जन्म पहिलो र पदार्थको जन्म दोस्रो ठान्छ र विश्व अज्ञेय छ भन्ने मान्दछ । तर भौतिकवादले भने पदार्थको जन्म पहिलो र चेतनाको जन्म पदार्थवाटै भएको मान्दछ । चेतनाको जन्म पदार्थको उपजबाट भएको हो र विश्वज्ञेय छ जान्न सकिन्छ बुझ्न सकिन्छ र त्यसलाई वदल्न सक्तछ भन्न मान्दछ । यो धारणा नै वैज्ञानिक छ । माक्र्सवादी दृष्टिकोण पनि यही नै हो ।

अर्को कुरा विश्वलाई हेर्ने दुई विपरित धारणा र पद्धतिहरु छन्, जस्तै द्वन्द्ववाद र अधिभूतवाद ।

माक्र्सवाद सर्वहारावर्गको मुक्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादको सिद्धान्त भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्टालिनले “कम्युनिष्ट पार्टीको विश्वदृष्टिकोण हो” भन्नु भएको छ ।
कम्युनिष्ट विश्वदृष्टिकोण नबनेसम्म हामी कम्युनिष्ट बन्न सक्तैनौं । क्षमता, वीरता, त्याग र बलिदानको भावना हुनुको साथै एउटा सच्चा कम्युनिष्टमा चाहिने मूल चीज विश्व दृष्टिकोण हो ।

उदाहरणको रुपमा चीनको महान नयाँ जनवादी क्रान्तिको कालमा ठूलो बलिदानीपूर्ण संघर्षमा जो लड्दा लड्दै बाँचेका थिए । तिनीहरु मध्ये कैयौंमा त कम्युनिष्ट दृष्टिकोण वा विश्वदृष्टिकोण (सर्वहारा विश्वदृष्टिकोण) बनेको थिएन ।

चाउ एनलाई, ल्यू शाओथी, तेङ शाओ पिङ जस्ता व्यक्तिहरु वस्तवमा कम्युनिष्ट बनेकै थिएनन् । त्यसैले चीनमा प्रतिक्रान्ति हुन पुग्यो । त्यस्तै रुसमा कम्युनिष्ट विश्वदृष्टिकोणको प्रश्न उपेक्षित बन्न पुग्यो । अन्ततः सोभियत संघ नै विघटन हुन पुग्यो । स्कुलिङको अभावले ती देशहरुमा प्रतिक्रान्तिका समस्या पैदा भएका थिए ।

स्कुलिङको अमावेला ती देशहरुमा यी समस्याहरु पैदा भएका थिए ।

साथै नेपालमा पनि झापाली समूहको ठूलो त्याग र बलिदान थियो तर उनीहरु मध्ये कतिपय कम्युनिष्ट बनेकै थिएनन् र माले– एमाले हुँदै त्यो समुह प्रतिक्रान्तिकारी बाटो हुँदै प्रतिक्रियावादी बन्न पुग्यो ।

त्यस्तै माओवादीहरुको दश वर्षे जनयुद्ध को प्रतिक्रिया ठूलो बलिदानीपूर्ण संघर्षमा जो लड्दा लड्दै बाँचेका थिए । तिनीहरु मध्ये कैयौमा त कम्युनिष्ट दृष्टिकोण वा विश्वदृष्टिकोण (सर्वहारा दृष्टिकोण) बनेको थिएन । प्रचण्ड –वावुराम भट्टराई जस्ता व्यक्तिहरु कम्युनिष्ट वनेकै थिएनन । त्यसैले उनीहरु एमालेमा विल्प हुन पुगेर प्रतिक्रान्तिको वाटो हुँदै प्रतिक्रियावादी कित्तामा पुगे ।

यसका अतिरिक्त विश्वकम्युनिष्ट आन्दोलन भित्र यस प्रकारका प्रशस्तै उदाहरणहरु छन् । पार्टी स्कुलिङको माध्यमबाट कम्युनिष्ट दृष्टिकोण वा विश्वदृष्टिकोण (सर्वहारा दृष्टिकोण) बन्ने भएकाले क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई पार्टी स्कुलिङको बढि महत्व हुन्छ ।
दश वर्षे जनयुद्धको प्रक्रिया अन्तरगत नियमित र योजनाबद्ध तरिकाले पार्टी स्कुलिङ संचालन नगरिएको र सही ढंगले नेता कार्यकर्ताहरुलाई पार्टी स्कुलिङको प्रदान नगरिएकै कारण माओवादी आन्दोलन विसर्जन हुन पुग्यो । परिणाम तः त्यही आन्दोलन भित्रैबाट प्रचण्ड बाबुराम लगायतका पलायनवादी प्रतिक्रान्तिकारी व्यक्तिहरुको जन्म भयो ।

पार्टी स्कुलिङले आम पार्टी पंक्ति भित्र बुझाइमा एकरुपता कायम गर्ने कार्यमा मद्दत गर्दछ । पार्टीले अंगिकार गरेको नीति, विचार, सिद्धान्त, कार्यक्रम अर्थात पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा रहेको मालेमावाद प्रतिको आम कार्यकर्ताहरुको दृष्टिकोणमा आम पार्टी पंक्ति बुझाइमा एकरुपता कायम गर्ने भएकाले हाम्रो पार्टीले यही कुरार्ला मध्यनजर राखेर केन्द्रिय स्तरदेखि स्थानीय स्तरसम्म पार्टी स्कुल विभागको व्यवस्था गरेर देशव्यापी रुपमा पार्टी स्कुलिङ सञ्चालन गर्ने अभ्यास गरिरहेको छ । हामीले केन्द्रिय स्तरमा, प्रदेश स्तरमा, जिल्ला स्तरमा आवशीय पार्टी स्कुलिङ सञ्चालन गर्दै आएका छौ । पाटीद्धारा र क्रान्तिकारी युगा लिग, नेपालको तर्पmबाट यस प्रकारका स्कुलिङ्गहरु निकै प्रभावकारी ढंगले संचालन हुँदै आएका छन् ।

यही साउन २६ देखि २९ गते सम्म हाम्रा पार्टीको काठमाडौ जिल्ला समितिले संचालन गरेको ४ दिने आधारभूत स्कुलिङ् ज्यादै महत्वपूर्ण, उपलब्धिपूर्ण, अनुशासन र व्यवस्थित बन्न पुग्यो । यो सबैका लागि शिक्षाप्रद बन्न पुगेको छ ।

माक्र्सवाद–लेनिनवाद–माओवाद हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त हो । यो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनमा आधारित छ ।
हामीले माक्र्सवादका ती संघटक अंग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषय वस्तुहरुलाई आम पार्टी स्कुलिङको आधारभूत पाठ्यक्रमदेखि उच्च तह तथा अनुसन्धानात्मक सम्मको पाठ्यक्रम तर्जुमा गरेका छौ । जस्तै केन्द्रस्तरमा, प्रदेश स्तरमा, जिल्ला स्तरमा र यो भन्दा पनि स्थानीय तहसम्म पनि पार्टी स्कुलतहरु खडा गरेर पार्टीको योजनामा निर्धारित कोषको आधारमा महान नेपाली नयाँ जनवादी क्रान्तिलाई आवश्यक पर्ने ठूलो त्याग र बलिदानले ओतप्रोत भएका हजारौ क्रान्तिकारी कार्यकर्ताहरु तयार पार्ने लक्ष्य र उद्देश्यका साथ पार्टी स्कुलिङ संचालन गरिरहेका छौं । यसप्रकारको स्कुलिङका आम पार्टी पंक्ति भित्र थप क्रान्तिकारी उर्जा पैदा गरिरहेको छ । स्कुलिङ लिन बाट कुनै पनि असल तथा सच्चा क्रान्तिकारी कार्यकर्ता नघुटुउन भन्ने पार्टीको उद्देश्य रहँदै आएको छ । किनभने पार्टी मालेमावादले लैस भएका अब्बल दर्जाका क्रान्तिकारी कार्यकर्ताहरु निर्माण गर्ने, संरक्षण गर्ने नीति अघि सारिरहेको छ । नेपाली क्रान्तिको यो द्वन्द्ववादलाई बुझेर मात्र पार्टी स्कुलिङको महत्व र आवश्यकता लाई बुझ्न सकिन्छ ।

(लेखक: नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुल विभाग सचिव हुनुहुन्छ ।)