युवतीद्वारा एक युवाका नाममा ‘सुसाइड नोट’ लेख्दै आत्महत्या

ओखलढुङ्गा,भदाै१३। आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ १ युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

 

३ महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो । गोमाको परिवारले फेसबुकको ‘फेक आइडी’ खोलेर उनलाई बदनाम गराई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

 

प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा युवराजले गोमालाई आत्महत्या गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताउनुभयो । युवराजले प्रहरीसँगको बयानमा गोमाको फेक आइडी खोलेर बदनाम गरेको स्वीकार गरेका छन् । जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो ।

रासस