माथिल्लो डोल्पाली र निकुञ्जबीच द्वन्द्व, यार्चा निकासीले समस्या

डोल्पा,असाेज १९। स्थापनाको झन्डै ३६ वर्षपछि गत जेठ–असारमा शे–फोक्सुन्डो निकुञ्ज कार्यालयले माथिल्लो डोल्पामा बाक्लो उपस्थिति देखायो । सदरमुकाम दुनैदेखि तीन दिन पैदलपछि पुगिने धो तरापमा यो वर्षजति कर्मचारी र सेना विगतमा कहिल्यै पुगेका थिएनन् । तर स्थानीय बासिन्दा न कर्मचारी आए भनेर खुसी भए न सुरक्षाको अनुभूति गरे ।

बरु उनीहरू झन् चिढिए । सरकारले धो तरापसमेतलाई समेटेर २०५५ सालमा निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । निकुञ्ज कर्मचारी सदरमुकाम दुनै नजिकको सुलिगाडबाट खासै माथि उक्लिँदैनथे । यसपटक भने यार्चागुम्बु टिप्न आउनेहरूलाई अनुगमन गर्ने र अवैध निकासी रोक्ने भन्दै निकुञ्ज र सेनाको ठूलै टोली आएको थियो ।

 

निकुञ्जको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्रको विकासमा खर्चनुपर्ने कानुनी व्यवस्था छ । तर २१ वर्षसम्म माथिल्लो डोल्पाका हकमा त्यो व्यवस्था खासै लागू भएको छैन । बर्सेनि निकुञ्जले साढे दुई करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो । त्यसको आधा रकम मध्यवर्ती क्षेत्रमा खर्चनुपर्ने हो । धो तरापमा अघिल्ला आर्थिक वर्षमा कुनै बजेट आएन । बल्ल २१ वर्षपछि गत आर्थिक वर्षमा मध्यवर्तीको भवन बनाउन ३० लाख रुपैयाँमा ठेक्का भयो । तर काम अधुरो छाडेर ठेकेदार हिँडेका छन् ।