सहज भएन श्रम स्वीकृति

काठमाडौँ, मङ्सिर १३ । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन । अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुनुहुन्छ, उपत्यकाबाहिरका मिलन नेपाली ।

श्रम स्वीकृतिका लागि गएको बिहीबारदेखि निरन्तर धाउँदा बल्ल बिहीबार आठ दिनमा श्रम स्वीकृति लिएको उहाँले बताउनुभयो । मिलन पहिलो पटक यस्तो स्वीकृति लिएर माल्टा जाँदै हुनुहुन्छ ।

समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा श्रम स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआएकोप्रति उहाँले आक्रोश पनि पोख्नुभयो ।

“श्रम स्वीकृतिका लागि के के कागजात चाहिन्छ भन्ने थाहा नहुँदा आठ दिन लाग्यो तर बल्ल बल्ल स्वीकृतिचाहिँ पाएँ”, बिहीबार बिहान ४ बजे अँध्यारोमै श्रम कार्यालय पुगेको बताउने मिलनले भन्नुभयो ।

मिलन त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेस्क वा बोर्ड भएको भए मिलनजस्तै वैदेशिक रोजगारीमा जानेलाई यस्तो सस्ती भोग्नुपर्ने थिएन कि । नयाँलाई मात्रै होइन, पुराना वा पुनः श्रम स्वीकृति लिनेका लागि पनि यस्तै सास्ती छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

संयुक्त अरब इमिरेट्स ९यूएई०मा तीन वर्ष र कतारमा पाँच वर्ष काम गरेको अनुभव लिनुभएका धनुषाका विजय यादवले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिल्यै नभोगेको गुनासो गर्नुभयो । “यसअघि त तीन÷चार हजार रुपियाँ बाहिरै फर्म भरिदिनेलाई दिएपछि सबै काम एक दिनमा गरिदिन्थे । अहिले त आफैँ आउनुपर्ने”, उहाँले भन्नुभयो, “पुरानो करार सम्झौतापत्र पनि चाहिने रे, त्यो कागजात साथमा छैन । कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको ईमेलमा पठाउनुपर्दो रहेछ । कम्पनीसँग मागेको छु, त्यही कुरेर बसेको दुई दिन भइसकेको छ, पाएको छैन । 

यस्तै नौ वर्ष साउदी अरेबिया बसेर तीन पटक नेपाल आइसक्नुभएका चितवनका विनोद अधिकारीले आक्रोशित हुँदै भन्नुभयो, “नयाँ नियम हामीलाई थाहै थिएन । तीन÷चार घण्टा लाइन लागेर डकुमेन्ट बुझायो, पुरानो सम्झौतापत्र खोइ भनेर सोध्छन्, पुरानो सम्झौतापत्र चाहिन्छ भन्ने के थाहा रु अहिलेसम्म माग्ने गरेको थिएन । कम्पनीमा फोन गरेर मगाएको छु, त्यसैको पर्खाइमा छु । शुक्रबार २ बजे फ्लाइट छ, तनाव भइसक्यो । 

श्रम स्वीकृतिका लागि यो यो कागजात चाहिन्छ भनेर जानकारी दिने सूचना ‘डेस्क’ भएको भए सायद मिलन, विजय र विनोदले जस्तो सास्ती भोग्नुपर्ने थिएन । श्रम स्वीकृति लिन आउनेका लागि यो यो कागजात चाहिन्छ भन्ने सबै सूचना दिने डेस्क भएको भए सेवाग्राही लाइन त बस्नुपर्ने थिएन ।

उक्त कार्यालयका प्रमुख देवेन्द्र कार्कीले सूचना डेस्क भए पनि सेवाग्राहीले त्यसप्रति ध्यान नदिँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन देशलाई के के कागजात चाहिन्छ भन्ने मलाई पनि सबै थाहा छैन । भर्खर देशअनुसार के के चाहिँदो रहेछ, सङ्कलन गरेर एकीकृत गर्दै छु । देशैपिच्छे फरक फरक हुन्छ, सबैलाई सहज हुने गरी लिखित रूपमै तयार गर्दै छु ।

 

उहाँले पछिल्लो पटक भएको वैदेशिक रोजगार नियमावली संशोधनले पुनः श्रम स्वीकृति लिएर विदेश जानेलाई व्यावहारिक कठिनाइ आएको स्वीकार गर्नुभयो । गएको भदौदेखि कार्यान्वयनमा आएको संशोधित नियमावलीले पुनः श्रम स्वीकृति लिनेलाई पुरानो सम्झौतापत्र पनि पेस गर्नुपर्ने अनिवार्य व्यवस्थाले गर्दा एक दिनमा हुने कामका लागि तीन÷चार दिन धाउनुपर्ने बाध्यता भएको उहाँले उल्लेख गर्नुभयो ।

 

“पुनः श्रम स्वीकृतिका लागि आउनेले नयाँ सम्झौतापत्र मात्रै लिएर आएका हुन्छन्, पुरानो कसैसँग हुँदैन । त्यो रोजगारदाताले काम गरेको भन्ने पत्र वैदेशिक रोजगार विभागको ईमेलमार्फत आउनुुपर्छ । त्यो पत्र माग्नेबित्तिकै आउँदैन, त्यसैले गर्दा एक दिनको काममा सेवाग्राही पटक पटक धाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

 

प्रमुख कार्कीले नियमावलीका कारण काममा भएको व्यावहारिक कठिनाइको गाँठो फुकाउन तीनमहले सुझाव बनाएर वैदेशिक रोजगार विभागमार्फत मन्त्रालयमा पठाइसकेको तर त्यहाँबाट अहिलेसम्म केही जानकारी नआएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वश्रममन्त्री गोकर्ण विष्टसमक्ष यस विषयमा कुराकानी भएर तत्काल सच्याउने कुरा हुँदाहुँदै उहाँ पदबाटै बिदा हुनुभयो । नयाँ मन्त्रीले बुझ्दै हुनुहुन्छ होला । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई व्यवस्थित, मर्यादित बनाउने भन्दै यही मङ्सिर १५ बाट ई–टोकन लागू गर्दै छ । यो प्रणाली लागू भएपछि अहिले सेवाग्राहीले भोग्दै आएको समस्या केही मत्थर होला ।

चिसोमा ४ बजेदेखि लाइनमा सेवाग्राही

श्रम स्वीकृति लिन झिसमिसेमै सेवाग्राही वैदेशिक रोजगार श्रम कार्यालय पुग्ने गर्छन् । कार्यालयबाहिर ४ बजेअघि नै सेवाग्राहीको भीड लाग्ने गरेको स्थानीयवासी बताउँछन् । कार्यालयको ढोका बिहान ९ बजे खुले पनि १० बजेबाट मात्रै काम सुरु हुन्छ । पहिले ई–टोकन सिस्टम थियो, लाइन बस्न पर्दैैनथ्यो । अहिले टोकन सेवा हटाइएको छ । अनलाइनबाट फाराम भरी टोकन नम्बर र समय लिनुपथ्र्यो । अहिल घन्टौँ लाइन लागेर फारम बुझाउनुपर्ने समस्या कार्यालयमै छ ।

श्रम कार्यालयका प्रमुख कार्की पछिल्लो एक वर्षदेखि काठमाडौँसहित अन्य प्रदेशका श्रम कार्यालयबाट पनि श्रम स्वीकृति दिने व्यवस्था गर्दा ई–टोकनमा प्राविधिक समस्या आएपछि रोकिएको र अब मङ्सिर १५ देखि पुनः सञ्चालनमा ल्याउँदै छौँ भन्नुहुन्छ ।

ई–टोकन पुनः कार्यान्वयन

वैदेशिक रोजगार क्षेत्र व्यवस्थित, मर्यादित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।
यो प्रणालीअनुसार सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइन९मार्फत फाराम पेस गर्नेबित्तिकै श्रम स्वीकृति लिने पाउने कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ, त्यहाँबाट लिन सक्ने छन् ।गाेरखापत्रदैनिकमा खबर छ।