सेनाले गरेको अपराध पनि प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं, मंसिर १३ । सैनिकबाट हुने अपराध अनुसन्धान गर्ने अधिकार अब प्रहरीले पाएको छ। सैनिक इलाकाभित्र हुने अपराध मात्रै सैनिक अदालतले हेर्नेछ। यसअघि सैनिक संलग्न हत्या र बलात्कार मुद्दा मात्रै अनुसन्धान गर्ने अधिकार प्रहरीलाई थियो।

 

अन्य अपराधमा सैनिक अदालतले नै फैसला गर्दै आएको थियो। सर्वोच्च अदालतको एक फैसलाका आधारमा सैनिक अदालतको अधिकार कटौती भएको हो। ०७४ मा गैँडाको खागसहित पक्राउ परेका सैनिक कृष्णबहादुर मगरले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले गरेको फैसलाले यो नजिर स्थापित गरेको  छ।

 

१७ माघ ०७४ मा दुई सैनिकसहित तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गैँडाको खागसहित लैनचौरबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमध्ये कृष्णबहादुर मगर र हरिबहादुर ढकाल सैनिक जवान थिए। उनीहरूलाई प्रहरीले सैनिक प्रहरीको जिम्मा लगाएको थियो ।

 

पछि उनीहरूविरुद्ध जिल्ला वन कार्यालयले मुद्दा चलाएकोमा पुर्पक्षका लागि जेल चलान भएका थिए। जिल्ला अदालतको आदेशलाई उच्च अदालतले समेत सदर गरेपछि मगरले मुद्दा सैनिक अदालतले हेर्नुपर्ने माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए भन्ने समाचार नयाँ पत्रिका दैनिकमा छ। 

 

तर, ५ असार ०७५ मा सर्वोच्चका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र आनन्दमोहन भट्टराईको इजलासले प्रत्यक्ष रूपमा सैनिकसँग सम्बन्धितबाहेक मुद्दा नियमित अदालतको क्षेत्राधिकार भएको फैसला गरिदियो।