कुकुर लखेट्न पनि संसदीय समितिकै निर्देशन

काठमाडौं, पुस १५ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको काठमाडौं दुग्ध वितरण आयोजनाको कारखाना क्षेत्रबाट तुरुन्त कुकुरहरु हटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ।

 

समितिले कृषि तथा पशुसम्बन्धी विविध विषयमा सोमबार जानकारी लिन बोलाएको बैठकमा उपस्थित मन्त्री, सचिव, महानिर्देशक र दुग्ध विकास संस्थानका अधिकारीहरुलाई उक्त निर्देशन दिएको हो। बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, कृषि सचिव प्रकाश माथेमा, उद्योग वाणिज्य सचिव वैकुण्ठ अर्याल, पशु सेवा विभागका महानिर्देशक वंशी शर्मा, संस्थानका निमित्त प्रमुख राजेन्द्रप्रसाद अधिकारीलगायत सहभागी थिए।

 

दुग्ध वितरण कारखाना परिसरमा कुकुरहरु र फोहोरमैला फेला पारेपछि समितिको बैठकले कुकुरहरु हटाउन निर्देशन दिएको हो। सांसदहरुले वर्षौंदेखि बालाजुस्थित दुग्ध वितरण आयोजनामा छाडा कुकुरको समस्या रहे पनि धपाउन किन पहल गरिएन भनेर प्रश्न गरेका थिए। विभागका महानिर्देशक शर्माले आफूहरुलाई लिखित जानकारी नआएको भन्दै संस्थानलाई कुकुर नियन्त्रण समस्याका बारे लेखेर पठाउन भने, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।