माघेसंक्रान्तिलाई कन्दमुल पनि भारतकै भर

काठमाडौं, पुस २७ । माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ । विशेष गरेर माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ ।

माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायतका कन्दमुल खाने नेपाली परम्परा रहेको छ । नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको हो ।

 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६–७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ ।

 

कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए ।

 

उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ । सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिब २५ लाख रुपैयाँको आयात सखरखण्ड आयात गर्ने गरेका छन् ।

 

संघका अध्यक्ष खतिवडाले बजारको मागअनुसार उत्पादन गर्न नसक्दा कन्दमुलका लागि भारतको भर पर्नु परेको बताए । माघेसंक्रान्तिमा प्रयोग हुने कन्दमुल नेपालमा पर्याप्त उत्पादन हुन नसक्दा कन्दमुलकै लागि वार्षिक लाखौं रुपैयाँ बाहिरिने गरेको खतिवडाको भनाइ छ ।

 

यसैगरी यस वर्ष स्वदेशीमा उत्पादन हुने तरुल गत वर्षको भन्दा कम हुँदा गत वर्षको तुलना तरुलमा १० देखि १५ प्रतिशत महँगो हुने खतिवडाको भनाइ छ । खतिवडाले सबैभन्दा धेरै महँगो स्वदेशी वन तरुल रहेको हुने बताए । स्वदेशी वन तरुल प्रतिकेजी ४ सयदेखि ५ सय पर्ने बताए ।

 

 

विगतका वर्षमा तरुलसमेत भारतबाट आयात हुने गरेको थियो । हाल नेपालको उत्पादन बढ्दा पछिल्लो समय भारतबाट तरुल आयात भने रोकिएको उनले बताए ।

 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले माघेसंक्रान्तिमा भारतबाट सखरखण्ड मात्र आउने गरेको बताए । माघे संक्रान्तिमा प्रयोग हुने तरुल भने नेपालकै उत्पादन भएको बताए । राजधानी दैनिकमा खबर छ।