विप्लप नेकपा र प्रहरीबीच गोली हानाहान

 बर्दिया,माघ १५।  विप्लप नेकपाका कार्यकर्ता र प्रहरीबीच बर्दियामा दोहोरो भिडन्त भएको छ ।

 

दोहोरो गोली हानाहानबाट एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् । घटनामा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन् ।

 

प्रहरीका अनुसार मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा आक्रमण गर्ने उद्देश्यले ४ जनाको समूहमा रहेका विप्लपका कार्यकर्ताहरू आएको सूचना पाएपछि उक्त स्थानमा जादै गर्दा प्रहरी र विप्लपका कार्यकर्ताहरूबीच केही बेर भनाभन र फायरिङ भएको हो । नेकपाका नेताहरूले प्रहरीको बन्दुक खोस्ने क्रममा बन्दुक पडकिदा प्रहरी जवानलाई गोली लागेको बताईएको छ ।

 

उनलाई बर्दियाको गुलरियामा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । गोली चले लगत्तै विप्लपका दुइ जना फरार भएको र दुई जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ दुर्गापुर बस्ने ६६ वर्षिय जनप्रतिनिधि परिषद बर्दियाका अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाउपालिका वार्ड न ४ का ५० वर्षिय नेकपाका जिल्ला सदस्य रोहित कुमार सुनार रहेका छन् ।

 

घटनास्थल नेपाल भारत सीमा नजिकै पर्दछ । बर्दियामा केहि दिनदेखि विप्लप नेकपाको गतिविधि हवात्तै बढेको छ ।