क्रान्तिकारी माओवादीको राष्ट्रिय स्वाधीनताको चार महिने अभियान ,देशका चार सहरबाट एकसाथ उद्घाटन हुँदैछ

काठमाडौ,माघ १५ । नेकपा (क्रान्तिकारी माओवादी)ले देशका चार सहरबाट  अाज बुधबार एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियानको कार्यतालिका अनुसार अनुसार १ र २ नं. प्रदेशको अभियानको उद्घाटन काँकडभिट्टाबाट गरिदैछ । यो अभियानको उद्घाटन तथा अभियानको नेतृत्व पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले गर्नेछन् ।

 

त्यसैगरी ७, ६ र ५ नं. प्रदेशको अभियान पश्चिम महेन्द्रनगरबाट सुरु हुनेछ । यो अभियानको उद्घाटन तथा अभियानको नेतृत्व पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले गर्नेछन् ।

 

त्यस्तै काठमाडौंबाट सुरु हुने ३ नं. प्रदेशको अभियानको उद्घाटन काठमाडौंमा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गर्दैछन् । अभियानको नेतृत्व पनि नेता गजुरेलले नै गर्नेछन् ।

 

त्यसैगरी ४ नं प्रदेशको पोखराबाट सुरु हुने अभियानको उद्घाटन पार्टीका स्थायी समिति सदस्य परि थापाले गर्नेछन् । चार महिनासम्म चल्ने अभियानको नेतृत्व पनि नेता थापाको नै रहनेछ ।

 

अभियान सञ्चालनका लागि क्रान्तिकारी माओवादीले ‘अभियान निर्देशिका’ नै निर्माण गरी सम्बन्धित पार्टी च्यानलमा सर्कुलर समेत गरिसकेको छ । निर्देशिका अनुसार सम्बन्धित ब्युरो तथा प्रदेशहरुले पहाड, उपत्यका, भित्री मधेश र मधेश तराईका सबै जिल्लाहरुमा अभियान सञ्चालन गर्नु पर्नेछ र उक्त अभियानहरुलाई सञ्चालन तथा परिचालन गर्नका लागि सम्बन्धित केन्द्रीय ब्युरो, प्रदेश तथा जिल्लाहरुका बीच आवश्यक तालमेल मिलाउनु पर्नेछ । अभियानहरुको सञ्चालन र परिचालनको नेतृत्व सम्बन्धित व्युरो इञ्चार्ज, प्रदेश इञ्चार्ज तथा प्रदेश सेक्रेटरीहरु र जिल्ला इञ्चार्ज तथा जिल्ला सेक्रेटरीहरुद्वारा गरिने छ । परिस्थिति अनुसार उक्त अभियान र सङ्घर्षका कार्यक्रमहरुलाई परिमार्जित तथा हेरफेर गर्न सकिने प्रावधान पनि निर्देशिकामा राखिएको छ ।

 

निर्देशिका अनुसार चार महिनासम्म चल्ने अभियानको नाम ‘राष्ट्रिय स्वाधीनताको रक्षा र सङ्गठन विस्तार अभियान’ राखिएको छ र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका लागि सङ्घर्ष र सङ्गठन विस्तार यो अभियानको महत्वपूर्ण कार्यभार रहेको छ ।

यस्ता छन् अभियानका उद्देश्यहरु

क्रान्तिकारी माओवादीको स्थायी समितिले तयार पारेको निर्देशिकामा पाँचवटा बुँदामा अभियानका उद्देश्यहरुलाई सुत्रबद्ध गरिएको छ । जस अनुसार, (१) राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु, भारतद्वारा लिम्पियाधुरा सहित कालापानी क्षेत्रलाई गाभी बनाइएको नयाँ नक्साको विरोध र लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित अखण्ड नेपालको नक्सालाई स्थापित तुल्याउनु।

 

(२) कालापानी–सुस्ता–महेशपुर सहित समस्त सीमा अतिक्रमण, जनसंख्या अतिक्रमण, अर्थतन्त्र, राजनीति र संस्कृतिको क्षेत्रमा हुँदै आएको भारतीय हस्तक्षेपको विरोध गर्नु ।

(३) मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग र जनसमुदायका हक, हित तथा अधिकारको पक्षमा सङ्घर्ष विकसित गर्नु ।

(४) जनजीविकाका समस्यालाई जोडदार रुपमा उठाउनु, आर्थिक असमानता, महङ्गी, भ्रष्टाचार, कमिशनखोरी आदिका विरुद्ध आन्दोलन विकसित गर्नु ।

(५) नयाँ जनवादी क्रान्तिको तयारी गर्नु ।

(६) माक्र्सवाद–लेनिनवाद–माओवाद, समाजवाद तथा साम्यवादको पक्ष र साम्राज्यवाद, विस्तारवाद, वर्तमान सत्ता तथा संसदीय व्यवस्था र पश्चगामी सरकारको विरोधमा जनतालाई जागृत तुल्याउनु । आदि रहेका छन् ।

अभियानका तीन चरण

माघ १५ देखि चैत्र २४ सम्म चल्ने अभियान तीन चरणमा सम्पन्न गर्ने समय तालिका बनाइएको छ । निर्देशिकामा उल्लेख गरिए अनुसार पहिलो चरण ः पुषदेखि माघ १४ सम्म हुनेछ । यसलाई क्रान्तिकारी माओवादीले तयारीको चरण भनेको छ । चरणमा विभिन्न बैठक, विभिन्न पक्षसित अन्तक्र्रिया, कार्यगत एकताका लागि पहल आदि गरिने उल्लेख गरिएको छ ।

 

त्यसैगरी माघ १५ देखि चैत्र २४ सम्मलाई दोस्रो चरण भनिएको छ । यस चरणमा मूलतः पहाड तथा उपत्यका र मधेश÷तराई क्षेत्रमा विभिन्न अभियान सञ्चालित गरिने, कार्यगत एकताका आधारमा सङ्घर्ष सञ्चालन गर्न प्रयत्न गर्ने र विभिन्न दिवसहरुलाई पनि आन्दोलनकै रुपमा मनाउने उल्लेख गरिएको छ ।

 

त्यस्तै अभियानको उत्कर्षको रुपमा वैशाखको चौथो सातादेखि जेठको दोस्रो सातासम्म ‘लिम्पियाधुरा जाऔं’ अभियानलाई तेस्रो चरणमा सञ्चालन गरिने निर्देशिकामा उल्लेख गरिएको छ ।

अभियानका मूल नारा र अन्य नाराहरु

क्रान्तिकारी माओवादीले अभियानको मूल नारा समेत तय गरेको छ । “राष्ट्रिय स्वाधीनता रक्षाको अभियानमा अगाडि बढौं ! सङ्गठन विस्तार गरौं !! राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सङ्घर्षमा उत्रौं !!! नयाँ जनवादी क्रान्तिको तयारी गरौं !!!!”लाई अभियानको मूल नारा बनाइएको छ । त्यसैगरी अभियान, आन्दोलन तथा संघर्षका नाराहरु पनि तय गरिएका छन् । जस अनुसार “(क) सन् १९५० लगायतका असमान सन्धि तथा संझौताहरु खारेज गर ! लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेत समेटी अखण्ड नेपालको नक्सा सार्वजनिक गर ! कालापानी क्षेत्रबाट भारतीय सुरक्षा सेना हटाऊ ! सो क्षेत्रमा नेपाली सुरक्षा सेनाको स्थापना गर ! सीमा क्षेत्रमा नेपाली सुरक्षा बल बढाऊ ! सीमा नियमन गर ! (ख) सबै क्षेत्रका मजदुरहरुको तलव बृद्धि गर ! ठेकेदारी, करार तथा ज्यालादारी प्रथा खारेज गर ! किसानहरुलाई समुचित अनुदान देऊ ! कृषि उत्पादनको बजार व्यवस्था गर ! विचौलिया राजको अन्त गर ! भूमिहीन, गरीव, सुकुम्बासी, कमैया, हलियाहरुलाई जमीन देऊ ! शिक्षा, स्वास्थ, खाद्यसंप्रभुता, रोजगारी र आवासको व्यवस्था गर ! महिला, दलित, मुस्लिम तथा अपाङ्गहरुको हकअधिकार स्थापित विशेषाधिकारको व्यवस्था गर ! (ग) भ्रष्टाचार नियन्त्रण गर ! भ्रष्टाचारीहरुलाई कडा सजाय देऊ ! बलात्कारी तथा हत्याराहरुलाई कडा सजाय देऊ ! मूल्यबृद्धि नियन्त्रण गर ! अर्थतन्त्रको क्षेत्रमा साम्राज्यवादी तथा विस्तारवादी प्रभुत्व अन्त गर ! स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास गर ! (घ) पहिचान सहितको सङ्घीयता कायम गर ! पूर्ण समानुपातिक, समावेसी प्रतिनिधित्वको व्यवस्था गर ! तलदेखि माथिसम्म मातृभाषामा शिक्षा देऊ ! (ङ) बृटिश तथा भारतीय सेनामा रहेका नेपालीहरुलाई विना भेदभाव वेतन, पेन्सन तथा भत्ता देऊ ! गोर्खा भर्ती केन्द्र खारेजगरी स्वदेशमै रोजगारीको व्यवस्था गर ! (च) दश वर्षको जनयुद्धमा सहादत प्राप्तगरेका सहिद तथा वेपत्ता योद्धा परिवारजन र घाइते अपाङ्ग योद्धाहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था गर ! (छ) दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद मुर्दावाद ! साम्राज्यवाद, विस्तारवाद तथा दक्षिणपन्थी संशोधनवाद मुर्दावाद ! नयाँ जनवादी क्रान्ति जिन्दावाद ! माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद ! सर्वहारा अन्तर्रा्ष्ट्रियतावाद जिन्दावाद !” लगायत रहेका छन् । आवश्यकता अनुसार अन्य उपयुक्त नाराहरु पनि समावेश गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ ।

को कसरी सहभागि हुन्छन् अभियानमा ?

केन्द्रीय टोली, प्रदेश टोली र जिल्ला टोली गरी अभियानमा तीनवटा टोली परिचालन गरिने जनाइएको छ । केन्द्रीय टोलीमा पार्टी, संयुक्त मोर्चा र जवस मोर्चाहरुबाट न्यूनतम एक÷एक जना, एउटा सांस्कृतिक टोली र एउटा पत्रकार वा सञ्चारकर्मी टोली रहने उल्लेख गरिएको छ ।

 

त्यसैगरी प्रदेश टोलीमा पनि पार्टी, संयुक्त मोर्चा र जवस मोर्चाहरुबाट न्यूनतम दुई÷दुई जना, एउटा सांस्कृतिक टोली र एउटा पत्रकार वा सञ्चारकर्मी टोली रहने जनाइएको छ ।

 

त्यस्तै जिल्ला टोलीमा पार्टी, संयुक्त मोर्चा र जवस मोर्चाहरुबाट न्युनतम तीन÷तीन जना र कार्यक्रम स्थलका अन्य कमरेडहरु तथा स्थानीय जनसहभागिता रहने उल्लेख गरिएको छ ।

 

क्रान्तिकारी माओवादीले अभियानको अवधिमा गरिने कार्यक्रम तथा योजनाको समेत खाका तयार पारेको छ । निर्देशिकामा उल्लेख गरिए अनुसार जिल्ला स्तरमा पार्टी, संयुक्त मोर्चा र जवस मोर्चाहरुका नगर, गाउँ र वार्डसम्म सङ्गठन निर्माण र विस्तार, वर्ग सङ्घर्ष तथा प्रतिरोध सङ्घर्षका आधारहरुको खोजी, तयारी र सञ्चालन, प्रचारात्मक तथा भण्डाफोरमूलक कार्यक्रम, नेपालको वास्तविक नक्सा प्रदर्शन लगायतका कार्यक्रमहरु गरिने छन् ।

 

त्यसैगरी प्रदेश स्तरमा मजदुर, युवा, विद्यार्थी, किसान, महिला, आदिवासी जनजाति, दलित लगायत जवस मोर्चाहरुका समिति बनाउने, साथै मधेशी, मुस्लिम, थारु मोर्चाका समितिहरु बनाउने, सम्पर्क मोर्चाहरुको निर्माण गर्ने, प्रमुख शहरहरुमा जनसभा, विरोध प्रदर्शन, प्रचारात्मक लगायत सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने र नेपालको वास्तविक नक्साको प्रदर्शन गर्ने, सम्बन्धित जिल्लाहरुमा सङ्गठन र सङ्घर्षका लागि नेतृत्व प्रदान गर्ने, समुचित कार्य्विभाजनका काम मिलाउने लगायतका कार्यक्रमहरु रहेका छन् ।

 

त्यस्तै केन्द्रीय टोलीले जिल्लाका कम्तिमा तीनओटा नगर वा शहरहरुमा जुलुस, जनसभा, नक्सा प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन गर्ने, सम्बन्धित जिल्लामा कम्तिमा एक ठाउँमा सीमा अवलोकन गर्ने, जनयुद्ध दिवस तथा सहिद सप्ताहका अवसरमा सहिद तथा वेपत्ता परिवारजन र घाइते–अपाङ्ग योद्धाहरुसित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नेलगायतका कार्यक्रमहरु गरिने निर्देशिकामा उल्लेख छ ।