बाजुराको पर्यटन विकास, संभावना र चुनौती

यमराज तिमिल्सिना

प्रत्येक स्थान/ठाउँलाई प्रकृतिले केहि न केही विशेष महत्वका कुरा प्रदान गरेको हुन्छ । त्यस्तै मध्ये प्राकृतिक सम्पदाले भरिपूर्ण ‘माल पाएर नि चाल नपाएको’ बाजुरा जिल्ला पनि एक हो । गरिबी, भोगमरी, खडेरी, छुवाछूत, अनिकाल, छाउपडी एवम् प्रकारका विभेदजन्य कार्यहरूले गिजोलिएका कुराहरू संधै राष्ट्रिय पत्रपत्रिकामा समेटिन पुग्नु दु:खद कुरा हो । नेपाल पर्यटन वर्ष २०२० को अन्तिम चरणमा छ ।

 

मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरूप सरकार भरपूर तयारी गरिरहेको छ । मानव सुचकाङ्कको पुच्छरमा रहेको जिल्लाले  मौकाको सदुपयोग गर्दै फाइदा लिन सक्नुपर्दछ । सरकारले सार्वजनिक गरेको  पर्यटकीय गन्तव्यस्थलको सूचीमा बाजुरा पनि समेटिएको छ । विकासोन्मुख र अल्पविकसित मुलुकलाई आर्थिक दिशातर्फ डोर्‍याउन बाह्य वा आन्तरिक पर्यटनको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । खासमा आन्तरिक पर्यटन मनोरञ्जनका लागि मात्र नभएर पेशा, व्यवसाय, व्यापार, नोकरी, उद्योग, स्वास्थ्य उपचार, शिक्षा, तिर्थाटन, खेलकुद आदिको लागि हुने गर्दछन् ।

बाजुरामा सबै प्रकारका पर्यटकलाई व्यवस्थापन गर्न नसकिने हो कि भन्ने हो  विशेष गरि  विदेशी पर्यटकलाई, किनभने विलासी प्रकृतिका पर्यटकहरूका लागि सुविधा सम्पन्न होटल लज र प्रविधि छैनन् । तर, आन्तरिक पर्यटकलाई भने सहजै आकर्षण गर्न सकिन्छ । अर्थशास्त्रको भनाइलाई सापट लिदा ‘व्यक्ति (धनी) हरूले जति बढी आर्जन गर्छन त्यति नै उनीहरूमा फाल्तु कुरामा खर्च गर्ने प्रवृति बढेर जान्छ ।

 

‘ अर्थात धन/पैसा हातमा परे पछि व्यक्तिहरूलाई चाहिएको वस्तुमा खर्च गरौं गरौं लाग्छ अनि विभिन्न मनोरञ्जन, घुमफिर, लुगाफाटो,अन्य किनमेलमा खर्च गर्ने गर्छन् । पछिल्लो समय नेपालमा पनि कमाइ गरेपछि पैसा खर्च गर्नु पर्छ भन्ने धारणाको विकास हुन थालेको छ । खास गरि विदेशको पढाई लेखाइ तथा वैदेशिक रोजगारीको कारण क्रय शक्ति वृद्धि भएका कारण पनि खर्च गर्न सक्ने स्थितिमा पुगिसकेका छन् । अब नेपालमा पनि  आन्तरिक पर्यटन व्यवस्थित किसिमले विकास हुने सक्ने सम्भावना देखिदै गएको छ । आन्तरिक पर्यटनले स्थानीयको आय आर्जनमा वृद्धि गर्छ र स्थानीय तहमै रोजगारीको वातावरण सिर्जना हुन्छ ।

बाजुराका पर्यटन संभावना बोकेका राष्ट्रिय रूपमा परिचीत बडिमालिका भगवती मन्दिर  स्वर्गीय आनन्दको अनुभुती दिलगर्न, सुरम्य प्राकृति वातावरण ठूल्ठूला पाटन क्षेत्रहरू त्यस्तै बुढिनन्दा भगवतीको मन्दिर र विश्वकै दोश्रो स्थानमा रहेको निजार ताल ( बुढिनन्दा भगवती गाथको निजार दह ) बाट मष्टा दह, धौली दह हुँदै झरेको मनमोहक झरना आधा दर्जन भन्दा बढी तालहरू रमणीय पाटनहरूका साथै अलौकिक फूलबारी जुन श्रावण पूर्णिमा पुजाका बेला अघिल्लो दिन ढकमक फूलेका फूलहरू भोलिपल्ट ओइलिसकेका हुन्छन् । प्रख्यात भूस्वर्ग खप्तड राष्ट्रिय निकुञ्जको विशेषता छदैँछ ।

 

ऐतिहासिक चौबिसे राज्य मध्यको एक बार्जुकोट दरबार र सहायक कुणिकोट, जुगाडाकोट, काँडाकोट अनि स्थानीय क्षेत्रमा परिचित धार्मिक तथा पौराणिक स्थलहरू जुम्ला चन्दननाथ भन्दा पुरानो दुई पाउ भएको कोल्टी चन्द्रनाथ मन्दिर, राष्ट्रिय गौरवका आयोजनाको विचमा पर्ने पौराणिक पादुका त्रिवेणी धाम ( पादुका, पिलु र देउराको संगम, कर्णाली नदि पानीको बिचमा ज्वाला बल्छन् ) कुण्डा क्षेत्रका बासिन्दाले अधिक मान्दै आएको जगन्नाथ ठाकुरजीको मन्दिर लुमा, स्वामिकार्तिक, सिम्भुनाथ, खापर देवताका माणु, पूर्व सम्मका बासिन्दाले समेत विश्वास गरेको र अदालतले समेत न्याय दिन नसकेका कतिपय मुद्दा सल्ट्याउँदै आएको तलिगोठी ठिनकोटी कैलास,अझैँपनि हातमा रहेका अक्षतालाई तत्काल तिलक बनाउन सक्ने र इच्छा पूरा गरिदिने अलौकिक क्षमता भएको लालिचौर कैलाश, जरणी कैलाश, लोहाको साङ्लो चुडाएर राज्य बचाएको लोहासुर माणु धिम ।

 

देशभित्र मात्रै होइन विश्वभर नै बसाइँ सरेका बाहुन/क्षेत्रीहरूको कुलान्य देउता मष्टो ( मष्टाका बाह्र भाइ मानिन्छन्, ठाउँ अनुसार मान्ने चलन छ प्रायः प्रत्येक गाउँमा माणुको थपना गरिएका छन् ) ज्युलेखिमष्टा, बलैमष्टा, गल्लेखमष्टा छेडेदह बनघर, माैर्‍या त्रिवेणी धाम, सदरमुकाम नजिकैको बिरेखाेला झरना, बझाङ र बाजुरामा पर्ने जेठि बहुरानि हिमाल, बडमेला भगवतीको मन्दिर छेडेदह । बथानलेख मैतोला,धलपुरी दह, बडीमालिका भण्डार गृह पैमा, बार्ज बाजथला । अचम्मको विशाल र  भिमकाय डुनि मुङ्ग्रा जुन भगवतीको प्रतिक ढुङ्गा संभवत देशभरिकै अचम्म अलौकिक ठूलो ढुङ्गा हुन सक्छ ।

 

भगवती ढुङ्गा धवल ढुङ्गा डोगडि, नन्दादेवी मन्दीर चाल्न्याँगणो, पुन्याँखेत अादी पौराणिक र ऐतिहासिक स्थल भएकाले पर्यटक सजिलै भित्र्याउन सकिने अवस्था देखिन्छ । कुरूको सिमकुरू ताल र चौर, हिमाली गाउँपालिकाको सैन पाटन, हिमाल र ताल, प्राचीन विछ्याँको गुम्बा जुन बौद्ध धर्मावलम्बीहरूका लागि अझ बिशेष हुनसक्ने । नुरि गाउँकै छेउमा भेटिएको अद्भुत कमल गुफा जमिन मुनि तलै तला भएको जगतले मान्दै आएका सम्पूर्ण ईश्वरका प्रतिमूर्ती ढुङ्गामा कुँदिएका, प्राकृति ढुङ्गाबाटै अनेकौं तालका बाजा बजाउन सकिने । पाण्डव गुफा गोत्री/मोहती । सहि व्यवस्थापन गर्न सक्ने हो भने पोरखे लेक,छेडेदह, त्रिवेणी, कर्णालीका  छेउछाउ र विभिन्न चउर, जङ्गल भित्रका फराकिला फाँट भएको ठाउँमा यातायातको सुविधा पुगेको हुनाले पिक्निक स्पोर्ट्स बनाएर छिमेकी जिल्ला र जिल्ला भित्रकै स्कुल कलेज क्लब सहकारी, संघ संगठन आदि लाई केहि सुबिधा सहितको लेबि लिइ आमन्त्रण गर्न पनि सकिन्छ ।

चुनौती जिल्ला तहबाटै पर्यटन व्यवसायलाई विविधीकरण गरि विस्तार र विकास गर्न सक्नुपर्छ । त्यसका लागि व्यावसायिक पर्यटन, सभासम्मेन ( राजनीतिक दल तथा निजि संघ संस्थाका मासिक / पाक्षिक / वार्षिकोत्सब  साँस्कृतिक महोत्सव ) रैथाने व्यापार मेला, रैथाने सीप सम्बन्धि मेला, क्षेत्रीय, प्रदेश स्तरीय  रचनात्मक/ साहित्यिक मेला, प्रवर्द्धनात्मक कार्यक्रम गरेर गर्नुपर्छ । पदयात्राका लागि मार्तडी – कोल्टी पदयात्रा, मार्तडी – छेडेदह – गौमूल पदयात्रा, त्रिवेणि –  नानाटेश्वरी पदयात्रा, मार्तडी सैन ताल / पाटन पदयात्रा , त्यस्तै जङ्गल सफारी र ट्रेकिङका लागि कालाजाग्रा, दौनागिरी धाम जङ्गल आदि गन्तव्यस्थलको पहिचान गर्ने, विभिन्न गाउँ अनि उच्च लेकालि भेगतिरका जान सकिने गोरेटो घोडेको बाटोको मर्मत सुधार गर्ने, विभिन्न उद्देश्यले भ्रमण गरिने हुँदा अमूल्य जडिबुटीको जानकारी लिन,रूख बिरूवाको अध्ययन गर्न, लेकाली चराचुरुङ्गीका बारेमा खोज खबर गर्न बढि प्रभाकारी हुने देखिन्छ ।

 

त्यस्तै जलयात्राका लागि अझ बढी संभावना देखिन्छ बुढिगङ्गा, छेडेदह जस्ता साना नदि र तालमा डुङ्गाको व्यवस्था अनि घरछेउमै बगेको कर्णालीलाई सदुपयोग गर्दै पर्यटक आकर्षण गर्न सहजै र्‍याप्टिङको सुविधा उपलब्ध गराउनु पर्छ । आक्कलझुक्कल स्थानीय नेताकार्यकर्ता मात्रैले रहर गरेको देखिन्छ त्यसको प्रचारप्रसार गरी सुरक्षीत र भरपर्दो र्‍याप्टिङगको व्यवस्था गरिनुपर्छ ।  पर्यटन विकासका लागि पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डका प्रतिनिधि र जिल्लाका सराेकारवाला निकाय बिच छलफल गर्ने । जिल्लाका लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवर्धन अन्तरक्रिया कार्यक्रम गर्ने, ।

 

बाजुराको दिगो पर्यटन विकासका लागि र  व्यवसायलाई दिगो बनाउन लक्षित गन्तव्य र भरपर्दो  विश्वसनीय बनाउन नीति निर्माण गरिनु पर्छ । सिमासंग जाेडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा पनि नेपाल पर्यटन बोर्ड लागेकोले सहकार्य गर्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्नुपर्छ । पर्यटकहरू  मनोरञ्जनका अतिरिक्त पदयात्रा, पर्वतारोहण, व्यापार, र अनौपचारिक रूपमा पनि आउने गर्दछन् । धार्मिक तथा साँस्कृतिक सम्पदा धेरै भएको ठाउँमा तिर्थयात्रा गर्ने उद्देश्यले बढी भएको देखिन्छ ।

 

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै जिल्ला, गाउँ पालिका र नगरपालिका स्तरमा महोत्सवहरू भए तर महोत्सवको बेला बाहेक पर्यटकको अघिपछि कुनै रौनक देखिएन । आजसम्मका महोत्सवले कति आन्तरिक पर्यटक भित्रीए त्यसका बारेमा पनि समिक्षा हुनुपर्छ । सरसर्ती बाहिरबाट हेर्दा छिटफूट रूपमा केही लेखक र केहि अधिकारकर्मीहरू ( कोहि निजि कार्यलयको कामले बाध्यता भएर त कोहि स्वईच्छा पूर्वक ) जानुसिबाय अन्य पर्यटक भित्रीएका देखिदैनन् । महोत्सवका बेला आयोजककै लगानीमा दुईचार दिन बस्न  आइपुगेका कलाकारहरूले गर्दा महोत्सव सफलता भएको मानिएला तर पर्यटन विकासमा सफलता मिलेको र टेवा पुगेको मान्न सकिदैन ।

भग्नावशेषमा रहेको ऐतिहासिक बार्जुकोट दरवार जिल्ला स्तरबाटै निति निर्माण तर्जुमा गरि रेखदेख र प्रचारप्रसार गर्नु, अधिकाँश भारतीय हिन्दु धर्मावलम्बीको रोजाइ मानासरोवर हुने हुँदा बाजुराको बाटो हुँदै जाने वातावरणको सिर्जना गरि मुख्य कर्णाली करिडोर र रारा पर्मिट रूट पनि जिल्लामै पर्ने हुँदा त्यतापट्टी ध्यान दिइनु पर्छ । पर्यटकको आवागमनले मुद्रा आर्जन हुने, रोजगारीको अवसर पैदा हुने घरेलु उद्योग धन्दाको विकास साँस्कृतिक आदानप्रदान हुने हुँदा पर्यटकीय पूर्वाधार विकास सम्बन्धि विषयमा जिल्लाका सरोकार निकाय तथा निजि क्षेत्र विच समन्वयातमक / सहकार्यात्मक छलफल र जिम्मेवारी बोधका साथै श्रोत साधनको बाँडफाँड र उपयोग जस्ता नितिगत विषय तथा सडक खानेपानी विध्युत सञ्चार जस्ता आधारभूत कुराहरूलाई मध्यनजर गर्नुपर्छ । स्थानीय परम्परागत साँस्कृतिक चाडवाड लाई लक्षित गरि पर्यटन व्यवसायी सँग छलफल गरि पर्यटक भित्र्याइनु पर्छ ।

 

जिल्ला भरिकै गाउँ गाउँमा मनाईने भुवा पर्व, चाली खेल, देउडा खेल,भारी खेल पैठमेलाका चाणची आदि पौराणिक खेलहरू सिक्न नयाँ पुस्तालाई पनि सिक्न  हौस्याउनु पर्छ । मार्तडीको अनन्ते, कोल्टिको दशैँ, साप्पाटाको भूवा, धिमको खौँ, नुरिको साउन पूर्णिमा, बाँधुको कुलोसोहिर्‍याईँ, वाईको चौदश मेला,  बडालेख मेला र जस्ता स्थानीय पौराणिक ऐतिहासिक जात्राका बिशेषताले नयाँ खोज अनुसन्धान पर्यटक भित्र्याउने माहोल र आफ्नो पहिचान थाहा पाउन महत्त्वपूर्ण अवसर पनि हुन् ।

पर्यटन व्यवसायलाई अझ बढी आकर्षक बनाउन पर्यटकलाई असुबिधा हुन नदिने, उपयुक्त र स्तरीय सेवा सुविधा प्रदान गर्ने, स्थानीय परिकारलाई महत्त्व दिने, आफूले निर्माण गरेका नीति नियमको पूर्व जानकारी दिने, निश्चित नीति नियम तय गर्ने, फोहोर र वातावरणीय प्रदुषण बढ्न नदिने ताकी खल्लो महशुस हुने अवस्था नआओस् । पर्यटकको चासोलाई मध्यनजर राख्दै ऐतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण, हेरचाह गर्ने, पर्यटकलाई ठग्ने, दु:ख दिने, सुलभ सुरक्षीत र भरपर्दो यातायात वा हवाई सुविधाको व्यवस्था गर्ने, भाडादरमा मनोमानी र यात्रुलाई ठग्ने मनोभावना हटाउनु पर्छ ।

 

समस्या आउँदा पर्यटकलाई औषधोपचारको आवास्यकता पर्ने हुँदा जिल्लाका उचित ठाउँमा उचित व्यवस्था सहितका स्वास्थ्यकेन्द्रको व्यवस्थापन गर्ने । स्थानीय पेशा अपनाएका व्यक्तिलाई सम्मान गर्दै तिनबाट निर्मित काठ र माटाका सामग्रीको उचित बजार व्यवस्थापनको वातावरण सिर्जना गरिदिनुका साथै पर्यटकलाई ती उत्पादित वस्तु नै उपहार स्वरूप दिने गर्नुपर्छ । जिल्लास्तरबाट सबै स्थानीय तहका व्यक्ति अटाउने गरि पर्यटन वर्ष भरी अनि दीर्घकालीन योजना बनाई जिल्लाका  पर्यटकीय स्थलहरूको संरक्षण र संवर्धन गर्न एक ‘जिल्ला पर्यटन प्रचारप्रसार तथा प्रवर्द्धन समिति गठन गर्दा पर्यटन विकास प्रभावकारी हुन सक्ने देखिन्थ्यो ।