कोरोना संक्रमणको आशंकामा चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना टेकु अस्पतालको आइसोलेसनमा

काठमाडौं,फागुन १८ । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन्। उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए।

 

‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।

 

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए । उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।

 

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।अनलाइनखबर बाट।