लीलामणि फिर्ता, नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस

काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको स्थानमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। यसबारे अघिल्लो बैठकमा पनि छलफल भएको थियो। उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाइएको छैन। बैठकमा पनि यसबारे छलफल नभएको एक मन्त्रीले बताए।

 

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूत पठाउन सिफारिस गरिएको छ। संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले पाण्डेलाई जिम्मेवारी सम्हाल्न कम्तीमा दुई महिना लाग्नेछ।

 

पौडेलको चारवर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भएको थियो। पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि त्यो निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।

 

दुई वर्षअघि सत्ता नेतृत्वमा आएपछि प्रधानमन्त्री ओली पौडेलसँग सन्तुष्ट थिएनन्। चीन भ्रमणको समयदेखि ओली पौडेलसँग सन्तुष्ट थिएनन्।

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम राजदूतका लागि प्रस्ताव गरेको र प्रधानमन्त्रीले मौन स्वीकृति दिएको एक मन्त्रीले सुनाए। पछिल्लो समय पौडेलको गतिविधि र आलेखजस्ता विषयमा सरकारले प्रश्न उठाउँदै आएको थियो। परराष्ट्र मन्त्रालयसँग पनि उनको सम्बन्ध सुरुदेखि राम्रो थिएन।

 

पौडेल ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर भएकाको सूचीमा नभए पनि अन्य छानबिनमा परेका वा चीनभित्रै कुनै समस्या देखिएर फिर्ता बोलाइएको हुन सक्ने आशंका मन्त्रीहरूको छ।

 

उनको समयमा दुवै तर्फबाट उच्चस्तरीय भ्रमण भए पनि यसको जस उनीभन्दा सरकारले नियोग उपप्रमुख सुशील लम्साललाई दिएको छ। लम्साल फुलब्राइट स्कलर हुन भने चिनियाँ भाषा राम्रोसँग बोल्न सक्ने करिअर कूटनीतिज्ञ पनि।अन्नपूर्ण पोष्टमा खबर छ ।