एमसीसीको प्रायोजनमा नेकपाभित्र कुस्तीबाजी

 कुमार शाह

अहिले सत्तारुढ नेकपाभित्र भाँडभैलो मच्चिएको छ । यो भाँडभैलो प्रम ओली पक्षधरले दाहालपंक्तिले मच्चाएको र अध्यक्ष दाहालका पंक्तिले यो सबै ओली पक्षधरले गराएको आरोप÷प्रत्यारोपमा उत्रिएका छन् । ओलीको सरकारी पंक्ति र दाहालको पार्टीपंक्ति एकअर्कालाई नंग्याउन र उडाउन व्यस्त छन् । ओलीपंक्तिले विगतमा ककसको पालामा केके भएको थियो भनी भ्रष्टाचारका ढड्डा पल्टाउँदै श्वेतपत्र जारी गर्ने अभियान थालेको छ । ओली पक्षधरको यो अभियानमा दाहालपंक्ति र देउवा मण्डली निशानामा परेका छन् । अर्कोतिर गोकुल बाँस्कोटाको कमिसनखोर मण्डलीले ओलीको नाकमाथि लगाएको आलोघाउलाई निशाना साँधेर वामदेवको सुइरो घोप्दै दाहाल पंक्ति जुरुजुरु उठिरहेको छ । हेर्दा सत्तारुढ नेकपाको आन्तरिक खिचातानी, अवसरको खोजी, इष्र्या र बदलाभन्दा अरु थोक केही होइन क्या रे भन्ने झैं देखिने यो खेल अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) को प्रायोजनमा भएको हो भन्ने हेक्का धेरै कमलाई मात्र हुन सक्छ । किनकि, त्यसको पर्दा उघ्रन अझैं केही समय लाग्ने छ ।

 

बाहिर हेर्दा सत्ता नै पल्टाउन फेरि अर्को क्रान्ति गरिरहेका झैं देखिने झापाली भगौडा र जनयुद्धका भगौडाहरुबीच लडाइँको एक मात्र कारक भनेको एमसीसी कसको नेतृत्वमा पास गर्ने भन्ने हो । ओलीको नेतृत्वमा गर्ने हो भने वर्तमान सत्तासिनहरुले पार्टी हर्ताकर्ता दाहाललगायतको पंक्तिलाई अबका दिनमा पालो नै आउन दिने देखिदैन । ओली पंक्तिमा यसका लागि ओली आफूले प्रधानमन्त्री नछाड्ने र राष्ट्रपतिको पदबाट राजीनामा दिन लगाएर भए पनि विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउन ल्याउने आन्तरिक तयारी रहेको छ । यसका लागि कुटनीतिक तथा गुटनीतिक दौडधुपमा मरेर लागेका छन् ओली ।

 

हेलकिप्टरबाट पन्ध्रकिलोको नेपाल नक्शाको केक बोकाएर काट्न र बाँड्न राजर्षी ठाँटबाँटका साथ ओली आफ्नो जन्मघर त्यतिकै पुगेका होइनन् । उनी एकातिर जनसाधरणका बीचमा सहानुभूति संकलनको अभियानमा छन् भने अर्कोतिर विदेशी शक्तिकेन्द्र र मुख्यतः अमेरिकीका लागि नेपाल टुक्राटुक्रा पारेर दिन पनि तयार छु भन्ने संकेत गरिरहेका छन् । मेरै नेतृत्वमा एमसीसी पास गरिनु पर्छ भन्ने उनको ढिपी देखिन्छ । योजनाबद्धरुपमा नेपाल नक्साको केक काटेर विवाद सिर्जना गरेपछि भोलिका दिनमा नेपाल टुक्राटुक्रा पारिँदा यो कुरा पचिसकोस् भनेर ओलीले यसको नकारात्मक रणनीतिक संकेत सहजै गरिसकेका छन् । जस्तो कि राजनीतिक चेतना भएदेखि कालापानीका मुद्दा उठाएर आएका वामपन्थीहरुको दुईतिहाईको सरकार हुँदा तिनैले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका अतिक्रमित भूभाग भारतलाई सुम्पन कुनै कसर बाँकी राखेका छैनन् ।

 

उता दाहाललगायतको पंक्ति पनि चानचुने तयारीमा देखिदैन । यो पंक्ति आफूहरुको नेतृत्वमा एमसीसी पास गर्ने वातावरण निर्माण गर्दै गएको छ । यसका लागि दलाल पंक्तिले दाहाल स्वयम् पार्टी अध्यक्ष, माधव नेपाल प्रधानमन्त्री र झलनाथ खनाल राष्ट्रपतिको भावी भागबण्डा तयार गरिसकेको छ । वर्तमान सरकारमा ओलीका चार मुख्य भरपर्दा मानिसमध्ये गोकुल बाँस्कोटाको बहिर्गमनसँगै अर्का भरपर्दा मन्त्री युवराज खतिवडाको कार्यकाल यही फागुनमा सकिदैछ । पार्टी सचिवालयमा एक मतका साथ पारित गरेर त्यो ठाउँमा वामदेव गौतमलाई पठाएर अर्थ तथा उपप्रधानमन्त्री बनाई ओलीको कार्यवाहकका रुपमा तयार पारेको छ । एमसीसी आफ्नै नेतृत्वमा पारित हुँदा ओली निकट प्रदीप ज्ञवाली दाहालपंक्तिकै मानिस हुने देखिन्छन् । अब ओली र ईश्वर पोखरेलमात्र दुईजनताको खासै दाल गल्ने देखिदैन । चिन्ता र चाखलाग्दो दुवै देखिने यो लफडा देश र जनताका लागि भएको नभई एमसीसी पारित गर्नका लागि हो । यो उनीहरु दलाल हुनुको मूलधर्ममा आधारित छ ।

 

अबका दिनमा अमेरिकाको आशिर्वाद जसले पाउँछ, उही सत्तासीन हुन्छ भन्ने दलाल मानसिकताका कारण कसको नेतृत्वमा एमसीसी पास गर्ने भन्ने यो लुछाचुँडीमा बहुमत दाहाललगायतको पंक्तिमा देखा पर्न थालेपछि अमेरिकाको आशिर्वाद पलना भारीभएको दाहालपंक्तितिरै पर्ने अनुमान सबैको देखिन्छ । यही अड्कलबाजीका आधारमा कसैले ओलीको राजीनामा आउने, कसैले ओली सरकार विघटन हुने त कसैले कांग्रेससहितको सरकार बन्नेसम्मका कुरा सार्वजनिक गर्न थालेका छन् । वामदेवले ‘सक्छौ भने मलाई पार्टीबाट निस्कासन गर’ भनी कुर्लने, माधव नेपालले ‘कि त ओलीले भनेको मान्नु पर्यो कि त पार्टी छोड्नु पर्यो’ भनी चुनौती दिने र अरु कसैले ‘ओलीले ४० प्रतिशत सांसद संख्या पुर्याएर पार्टी फुटाउने’ बताउने तथा पार्टी अध्यक्ष दाहालले ‘सचिवालयको सर्वसम्मत निर्णय ओलीले खुरुखुरु मान्नु बाहेक अरु विकल्प नै छैन’ भन्नुले दाहाल पंक्तिको बहुमते बलमिचाइमा कम दम्भ देखा परेको छैन । यी सबै कुरा को बढी दलाल हुने र अमेरिकाको आशिर्वाद लिने भन्ने प्रतिस्पर्धामा देखिन्छ ।

 

सत्तारुढ नेकपा नेपालका छानिएका दलालरुको झुण्ड भएकाले यसको नेतृत्व पंक्तिमा देशभक्त, जनप्रेमी र परिवर्तनकारी कोही पनि पाउने संभावना छैन । सत्ताधारी नेकपाको आन्तरिक जीवनमा अहिले देखिएको अन्तरविरोध वा खिचातानी राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा होइन, बरु यो दलाली, भागबण्डा र त्यसको नेतृत्वका लागि हुन गएको हो । यसको नेतृत्व पंक्ति पूर्णतः दलालीमा लिप्त छ । तर अपवादका रुपमा त्यहाँ रहेका देव गुरुङ, भीम रावल र नारायण शर्माहरुको पंक्ति सापेक्ष राष्ट्रवादी पंक्ति हो, जोसँग तत्काल पार्टी एकता नभए पनि मोर्चागत एकता जारी राख्नु देशभक्त र जनपक्षीय शक्तिहरुको कर्तव्य हुन आएको छ ।

 

अबको राजनीतिक वातावरण भनेको एमसीसी पक्षधर र एमसीसी विरोधी गरी दुई मोटो भिन्नतामा देखापर्ने छ । राष्ट्रवादी नेपालीहरुका माझमा अमेरिकीलगायतका विदेशी शक्तिहरुको चलखेल निकै बढ्ने देखिन्छ । कार्लमाक्र्सले कम्युनिष्ट घोषणापत्रमा ‘बनिबनाउ पुरानै राज्यसत्तालाई सर्वहारा वर्गले जस्ताको तस्तै प्रयोग गर्न सक्दैन, यसलाई धूलोपीठो पार्नुपर्छ’ भने झैं ठीक यसको उल्टो राष्ट्रवादीसहितको नेपालको वर्तमान दलाल राज्यसत्ता अमेरिकी साम्राज्यवादले पनि जस्ताको तस्तै प्रयोग गर्नसक्ने छैन । यसले नेपाली राष्ट्रवाद, राष्ट्रवादी सोच र राष्ट्रवादी पंक्ति र जनतालाई सैयौंपटक धूलोपीठो पार्न जन्मेदेखिको बल लगाउने छ । को बढी दलाल हुने र कसको नेतृत्वमा एमसीसी पास गर्ने भन्ने कुरामा त उही दलाल ओली–दाहालहरुको एकापसमा जीवनमरणको संघर्ष चल्दै गएको देखिदैछ भने एमसीसी विरोधी राष्ट्रवादी नेपालीहरु मास्नका लागि अमेरिकीहरुसँग मिलेर यी दलालहरुले कुन चाँही निकृष्ट खालको हर्कत र तिकडम गर्न पछि नपर्लान् ?

 

त्यतिबेला क्रान्तिकारीदेखि राष्ट्रवादी, प्रगतिशील, वामपन्थी र देशभक्त शक्तिहरु साम्राज्यवादी बुटमुनि निर्ममतापूर्वक कुल्चिइने ग्यारेन्टी छ । घातप्रतिघात, देशघात, जनघात र अन्तरघात छाल भैं मडारिंदै आउने देखिन्छ । अमेरिका जहाँ पस्छ, त्यहाँ नश्लीय, जातीय, साम्प्रदायिक र क्षेत्रीय आदि अन्तरविरोधलाई त्यहाँका स्थानीय जनता सखाप पार्न दुरुपयोग गर्ने गरेको इतिहास साक्षी छ । अमेरिका इराक पस्छ, इराकमा लडाइँ हुन्छ, अमेरिका अफगानिस्तान पस्छ, अफगानी लडाइँ चल्छ, अमेरिका सिरिया जान्छ, सिरिया बर्बाद पारिदिन्छ । अब अमेरिकाको पाइला नेपालमा पर्दै छ । नेपाल पनि अमेरिकी विध्वंशको छायाँबाट बच्ने देखिदैन ।

 

हाल नेपालका प्रधानमन्त्रीका रुपमा ओलीले गरेका सारा काम एमसीसीको निर्देशनमा भैरहेको छ । एमाले र माओवादी केन्द्रको गठजोड पनि अमेरिकाले बनाइदिएको थियो, यो दुईतिहाईको सरकार पनि अमेरिकाले नै बनाइदिएको थियो । त्यस वापत् ओलीले एमसीसी पारित गर्न आधारहरु तयार पारे । एमसीसीसम्बद्ध यतिहोल्डिङ्सलाई राजधानी काठमाडौंका शिवपुरीजस्ता रणनीतिक तथा सामरिक महत्वका हजारौं रोपनी जग्गा दशकौंका लागि लिजमा दिलाएका छन् । आफूलाई कम्युनिष्ट भनेर नथाक्ने ओली सरकारले अमेरिकाकै निर्देशनमा नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेकपामाथि प्रतिबन्ध लगाएको छ । विदेशी शक्तिका पिट्ठू ओलीलाई माथ गरेर आफ्नै नेतृत्वमा एमसीसी पारित गराउन लालायित दाहालपंक्ति देश र जनताका लागि कति खतरनाक होला रु एमसीसी प्रयोजित सत्ताधारी नेकपाभित्रको कुस्तीबाजीको खुल्ला रहस्य यसैमा निहित छ ।