काठमाडौंका सामुदायिक विद्यालयको बेहाल :अधिकांश कक्षाकोठा सुनसान

काठमाडौं, फागुन २० । चालु शैक्षिक सत्र सकिन अब धेरै दिन बाँकी छैन । त्यसैले अधिकांश विद्यालयमा अन्तिम परीक्षाको तयारी सुरु भइरहेको छ । शिक्षक–शिक्षिकाहरू पाठ्यक्रम सकाउने हतारोमा छन् । विद्यार्थीहरूले वर्ष दिनको मेहनत खेर जान नदिन नियमित कक्षा र पुनरावृत्तिलाई महत्व दिइरहेका छन् । तर कक्षाका प्रायः सबै विद्यार्थी उपस्थित हुने साताको पहिलो दिन १८ फागुन आइतबार पनि काठमाडौंको नक्सालस्थित आदर्श आधारभूत विद्यालयमा भने विद्यार्थी उपस्थिति न्यून थियो ।

 

विद्यालयको रेकर्डअनुसार कक्षा ७ मा नौ जना विद्यार्थी भर्ना भएका छन् तर आइतबार भने तीन जना मात्र उपस्थित थिए । त्यस्तै कक्षा ८ मा पनि १० जना विद्यार्थी रहेकोमा तीन जनाको मात्र हाजिरी भएको थियो । कक्षा ८ मा भर्ना भएका १० जनामा आइतबार विपन श्रेष्ठ, इन्साफ तामाङ र अशोक खत्री मात्र उपस्थित थिए । कक्षा ७ मा पनि आफूसहित तीन जना मात्र विद्यालय आएको सुजन थापाले बताए ।

 

प्रधानाध्यापक अन्तराम नाथका अनुसार गत शैक्षिक सत्रमा विद्यालयमा एक सय ३५ विद्यार्थी भर्ना भएका थिए । कक्षा ८ मा १० जना, ७ मा ९ जना, ६ मा १२ जना र कक्षा ५ मा १४ जना विद्यार्थी भर्ना भएका थिए । त्यस्तै कक्षा ४ मा १३ जना, ३ मा १४ र कक्षा १ र २ मा समान १८/१८ जना विद्यार्थी भर्ना भएका थिए । त्यसैगरी प्रारम्भिक बाल विकास शिक्षा (इसिडी)मा २४ जना भर्ना भएका थिए ।

 

अधिकांश विद्यार्थीका अभिभावक बाहिरी जिल्लाबाट आएर सामान्य रोजगारी तथा ज्याला मजदुरी गर्नेहरू हुन् । विद्यार्थी संख्या न्यून हुनु र भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय नआउने कारणबारे स्पष्ट पार्दै प्रधानाध्यापक नाथले भने, ‘कामको खोजीमा अभिभावक एक ठाउँबाट अर्को ठाउँमा डेरा सरेर जाने गरेका कारण पनि विद्यार्थी भर्ना भएजति आउँदैनन् ।’ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हरिप्रिया चन्दले सबै कक्षाका गरी करिब ९० जना विद्यार्थी नियमित विद्यालय आउने गरेको बताइन् ।

 

२०७२ सालको विनाशकारी भूकम्पअघिसम्म पनि विद्यालयमा विद्यार्थी संख्या ठीकै थियो । भूकम्पपछि विद्यार्थी संख्या स्वात्तै घटेको भन्दै प्रधानाध्यापक नाथले भने, ‘भूकम्पपछि अभिभावकसँगै गाउँ फर्केका अधिकांश विद्यार्थी पुनः फर्केर आएनन् ।’ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्दले पनि भूकम्पपछि विद्यार्थी संख्या निकै न्यून भएको बताइन् । विद्यालयका शिक्षक प्रेमभक्त रेग्मीले निजी विद्यालयमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने मानसिकताका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको बताए ।

 

आदर्श आधारभूत विद्यालय तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको पहलमा २०२४ सालमा स्थापना भएको हो । बालमन्दिरमा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउन स्थापना गरिएको विद्यालयमा कुनै समय सात सयभन्दा बढी विद्यार्थी भर्ना भएको विद्यालयको रेकर्डमा उल्लेख छ । प्राथमिक तहका ६ र निम्न माध्यमिक तहका चार जना गरी १० जना शिक्षक रहेको विद्यालयका कक्षाकोठा अहिले भने विद्यार्थी अभावमा करिब सुनसान देखिन्छन् ।

विद्यार्थीविहीन काठमाडौंका विद्यालय

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र नियमित गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘एक विद्यालय, एक नर्स’, दिवा खाजा, निःशुल्क सेनेटरी प्याड वितरणजस्ता थुप्रै कार्यक्रम सञ्चालनमा छन् । तर पनि शिक्षाको मुख्य केन्द्र मानिएको काठमाडौंकै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।

 

ठमेलको भगवान बहालस्थित लोकहित आधारभूत विद्यालयमा पनि विद्यार्थीको संख्या एक सय १० जना मात्र रहेको प्रधानाध्यापक सबिना गुरुङले जानकारी दिइन् । हनुमानढोका मखनटोलस्थित खड्ग चोकमा रहेको तारिणी आधारभूत विद्यालयमा त झन् २०७२ देखि विद्यार्थी नै छैनन् । भूकम्पअघि नियमित पढाइ हुने गरे पनि भूकम्पपछि विद्यार्थी नै नरहेको प्रधानाध्यापक सिता घिमिरेले बताइन् ।

विद्यालय व्यवस्थापनबारे महानगरको योजना

काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को परिच्छेद ८ अनुसार सामुदायिक विद्यालयको प्रत्येक कक्षाकोठामा सामान्यतया विद्यार्थीको संख्या ४० हुनुपर्छ । त्यस्तै परिच्छेद ८ को २ मा संस्थागत विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतयाः न्यूनतम २२ जना, अधिकतम ४४ जना हुनुपर्नेछ । त्यस्तै औसतमा ३३ जना हुनुपर्ने उल्लेख छ ।

 

तर, तत्काललाई विद्यार्थी संख्या नपुगे पनि विद्यालयको अनुमति नै खारेज गर्ने योजना भने महानगरको छैन । महानगरको शिक्षा विभागका निमित्त प्रमुख तारापति पोखरेलले भने, ‘विद्यार्थी कम भएका विद्यालयका शिक्षकलाई बढी विद्यार्थी रहेको विद्यालयमा दरबन्दी मिलान गरेर सरुवा गरिनेछ भने विद्यार्थी संख्या कम भएका विद्यालयको दरबन्दी घटाउने र सेवा–सुविधा पनि घटाइनेछ ।नयाँ पत्रिका दैनिकमा खबर छ।